उपनिर्वाचनका लागि सुर्मा- ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बझाङ । बझाङको सुर्मा गाउँपालिका–४मा आगामी मंसिर १६ गते हुन लागेको वडाअध्यक्ष पदको स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

बझाङका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गरेका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्य तालिका अनुसार नै शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचनको कार्य तालिका अन्तर्गत मंसिर २ गते उम्मेदवारी मनोनयन दर्ता गरिने मुख्य निर्वाचन अधिकृत लामिछानेले बताए । निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारी दर्ताको समय १० देखि ५ बजेसम्म हुनाका साथै सोही दिन नै उम्मेदवारको सूची सार्वजनिक हुने भएको छ ।

उम्मेदवारको विरोधमा उजुरी दिने मंसिर ३ गते र उजुरीमाथि छानबिन मंसिर ४ गते गरिने बताइएको छ । उजुरीमाथिको छानबिनपछि उम्मेदवारको नामावली सोही दिन प्रकाशन गरिने भएको छ ।

त्यसैगरी उम्मेदवारको नाम फिर्ता लिने मंसिर ५ गते र उम्मेदवारको अन्तिम नामावली सोही दिन प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृत लामिछानेले बताए ।

वडाअध्यक्ष पदको उम्मेदवार नेपाली कांग्रेसले आफ्नो उम्मेदवार धिरेन्द्र पुजारा र नेकपा एमालेबाट लखीचन्द्र बोहरालाई सर्वसहमत टुङ्ग्याएको भए पनि माओवादी केन्द्र, राप्रपा, रास्वपा, एकृकीत समाजवादी लगाएतका पार्टीले अहिलेसम्म उम्मेदवार टुङ्ग्याएका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *