रविबारे कांग्रेस- आधार देखेरै प्रक्रिया अघि बढेको हो, दोषी निर्दोष अब अदालतले छुट्ट्याउँछ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी प्रकरणमा पार्टीको जोसुकै नेता मुछिएपछि दोषी देखिए कारबाही गर्ने आफूहरूले अवरोध नगर्ने बताएका छन्।

नेपाल प्रेस युनियन रुकुम पश्चिमले सदरमुकाम मुसिकोट खलंगामा गरेको पत्रकार सम्मेलन बोल्दै प्रश्न उठेकाहरूमाथि छानबिन गर्न पार्टीले भनिसकेको बताए।

कांग्रेस उपसभापति धनराज गुरुङलाई पनि सहकारी ठगीको आरोप लागेको छ।

त्यही प्रसङ्गलाई लक्षित गर्दै भने, ‘हाम्रो पार्टीको पनि जोसुकै होस् छानबिनको प्रक्रियालाई अवरोध गर्ने काम हामीबाट हुँदैन। आधार प्रमाण भए अनुसन्धान प्रक्रिया अघि बढाए हुन्छ भनेका छौँ। हामी सत्तामा भएको कारणले कसैलाई बचाउने कसैलाई प्रक्रियामा ल्याउने भन्ने लक्ष्य छैन। सबै कुरा निष्पक्ष हुन्छ। कांग्रेसले कसैलाई विभेद गरेको छैन।’

उनले रवि लामिछानेको विषय अदालतमा भइसकेकाले बोल्न आवश्यक नभएको बताए।

उनले भने, ‘रविजीको बारेमा संसदीय छानबिन समितिले सर्वसम्मत नाम नै तोकेर रवि लामिछानेसहित चार जनालाई कारबाहीको लागि सिफारिस गरेको छ। त्यसपछि सरकार अनुसन्धान निकायहरूले गर्‍यो। उहाँहरूले केही आधार देखेर नै प्रक्रिया अघि बढाएको होला। अदालतले पनि केही आधार देखेर थुनामा राखेको हो। अब त्यो अदालतको हातमा गइसक्यो। अब अदालतले बोल्छ, हामीले केही भन्नुपर्ने छैन। निर्दोष भए अदालतले सफाइ दिन्छ, दोषी भएर कारबाही हुन्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *