हिरासतबाट रविकाे सन्देश- फसाउने योजना बन्दैछन्, तर आन्दोलन शान्तिपूर्ण बनाउनू

रुपन्देही । मंगलबारदेखि रुपन्देही प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले बुधबार नेताहरूसँग भेटघाट गरेका छन् ।

लामिछानेले बुधबार बिहान पार्टीका नेतासँग अलग-अलग भेटेर बाहिरी अवस्था बुझेका छन् भने आवश्यक निर्देशन पनि दिएका छन् । बुधबार बिहान रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरा, संगठन विभाग प्रमुख शंकरकुमार श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकलगायतका नेताले अलग-अलग भेटेका थिए ।

उनले आफूलाई भेट्न आएकासँग न्यायिक पद्धतिलाई सघाउन तयार भएपनि सरकारले प्रतिशोध राखेरै बयान लम्ब्याएको र मानसिक दबाब दिन खोजिरहेको बताएका छन् । यद्यपि ढुक्क भएर आफ्नो भनाइ राखिरहेको उनले बताएका छन् ।

आन्दोलनलाई शान्तिपूर्ण र सौहार्दपूर्ण बनाउन नेतृत्वलाई आग्रह गर्दै सरकारले प्रतिशोधमा फसाउनेगरी बनाएका रणनीति सफल नहुने भन्दै ढुक्क रहेर साथ दिन आग्रह गरेको भेटका लागि गएका एक नेताले बताए ।

मंगलबार पोखराबाट जहाजमा ल्याइएका रविको साढे १२ बजेदेखि साँझ ६ बजेसम्म मौखिक बयान लिइएको थियो । प्रहरीले उनलाई केही समय आराम गर्न भनेपनि आफू बयानका लागि तयार भएको बताएपछि बयान तत्काल सुरू गरियो ।

रविलाई भेट्न पुगेकाहरूले आन्दोलन र समसामयिक परिवेशको जानकारीसँगै आन्तरिक योजनाको छलफल गरेका छन् । रास्वपा लुम्बिनी अध्यक्ष देवराज पाठकले सभापति न्यायिक प्रोसेसलाई सघाउन तयार भएको र उच्च मनोबलका साथ बसेको बताए ।

‘मैले बिहान १० मिनेट हिरासतमै भेटेर आएँ, अरु केही साथीहरूले पनि भेट्नुभएको छ, उहाँले न्यायिक प्रोसेसलाई खुलेर सघाउने जनाउनुभएको छ’ पाठकले नेपाल प्रेससँग भने, ‘सरकारले प्रतिशोध राखेर यति धेरै समय लिइरहेको छ, थकाउन खोजिरहेको छ, बाहिरको माहोल कस्तो छ ? जसरी पनि आन्दोलनलाई शान्तिपूर्ण बनाउनुहोस्, अराजक बनाएर गलत तत्वले हामीलाई आक्षेप लगाउने हुनसक्छ, त्यसमा सचेत हुनुपर्छ भन्नुभयो ।’

सभापति लामिछानेले रुपन्देही प्रहरीमा राम्रो व्यवहार गरेको बताएका छन् ।

‘मलाई भित्र कुनै समस्या छैन, प्रहरीको व्यवहार राम्रो छ, बाहिर पनि राम्रो भएको सुनेको छु, आन्दोलनका कारण कुनै केही क्षति भए राज्यको नोक्सानी हुने हो, कसैलाई चोटपटक लाग्ने, कसैलाई दुःख दिनेखालका आन्दोलन रोक्नका लागि सचेत बताउनुभयो’, लामिछानेलाई उद्धृत गर्दै पाठकले थपे ।

लामिछानेको दोस्रो दिनको बयान आज बिहान सवा १० बाट जारी छ । उनलाई प्रहरीको कडा सुरक्षा घेरामा सरकारी वकिल कार्यालय लगिएको थियो । मंगलबार बयान दिएर निस्किने क्रममा उनले बार्दलीबाट ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्दै टिप्पणी गरेका थिए ।

बुधबार दोस्रो दिनको बयानका लागि लैजानेक्रममा प्रहरीले घेरा हालेर प्रवेश गराएको थियो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनको अभियोगमा जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको उपस्थितिमा इलाका प्रहरी कार्यालय बुटवलकै प्रहरी अधिकृतहरुले बयान लिइरहेका छन् । मंगलबार प्रारम्भिकरूपमा मौखिक बयान लिइएको र आज विभिन्न सवालहरुमा लिखित बयान लिइने छ ।

इलाका प्रहरी कार्यालयमार्फत् अभियोजन गरिएको मुद्दाका सन्दर्भमा सरकारी वकिल कार्यालयमा मंगलबार लामिछानेले इन्कारी बयान दिएका छन् । आफू सदस्य नै नरहेको सहकारीबाट आफ्नो नाममा ऋण प्रवाह भएको बताउँदै यसबारेमा कुनै जानकारी नरहेको उनले बताएको प्रहरी स्रोत बताउँछ ।

रुपन्देहीका प्रहरी प्रमुख रञ्जितसिंह राठौरले बुधबार सरकारी कार्यालय समयमा बयान लिइएपछि आजै फर्काउने वा राख्ने टुंगो लाग्ने बताए ।

रास्वपाका कार्यकर्ताले बुधबार पनि साढे ११ बजे लुम्बिनी गेटमा जम्मा भएर प्रदर्शन थालेका छन् । सुप्रिमबाट लामिछानेले दुई करोड र जीबी राई सम्वद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

Comments

3 responses to “हिरासतबाट रविकाे सन्देश- फसाउने योजना बन्दैछन्, तर आन्दोलन शान्तिपूर्ण बनाउनू”

  1. Ram Bhattarai Avatar
    Ram Bhattarai

    एउटा काण्डमा परेको भए पो हो कि भनेर पत्याउनु ! चारतिरबाट पैसा लगेर खाएको छ। आधा दर्जन भन्दा बढि सहकारीको पैसामा उल्फाको धन फुपुको श्राद्ध भने झैँ मोज मस्तीमा उडाएको छ। दोहोरो नागरिकता प्रयोगको गरेको , दोहोरो राहदानी प्रयोग गरेको, पत्रकार नवराज पुडासैनीको आत्महत्या काण्डमा पसेको ,आफ्नो गाडीको ड्राईभर आफु बसेको घरको छतबाट खसि मरेको ,सकारिको पैसा निजि कम्पनीमा ल्याएर खाएको जस्ता काण्डै काण्डमा मुछिएका व्यक्तिले पसाउन खोज्दैछन भनेको कुरा कसरी पत्याउनु हौ ???

    1. Ram Bhattarai Avatar
      Ram Bhattarai

      एउटा काण्डमा परेको भए पो हो कि भनेर पत्याउनु ! चारतिरबाट पैसा लगेर खाएको छ। आधा दर्जन भन्दा बढि सहकारीको पैसामा उल्फाको धन फुपुको श्राद्ध भने झैँ मोज मस्तीमा उडाएको छ। दोहोरो नागरिकता प्रयोगको गरेको , दोहोरो राहदानी प्रयोग गरेको, पत्रकार सालिकराम पुडासैनीको आत्महत्या काण्डमा पसेको ,आफ्नो गाडीको ड्राईभर आफु बसेको घरको छतबाट खसि मरेको ,सकारिको पैसा निजि कम्पनीमा ल्याएर खाएको जस्ता काण्डै काण्डमा मुछिएका व्यक्तिले पसाउन खोज्दैछन भनेको कुरा कसरी पत्याउनु हौ ???

      1. Ram Bhattarai Avatar
        Ram Bhattarai

        भुल सुधारेको :
        एउटा मात्र काण्डमा परेको भए पो भनेको कुरा पत्याउनु ! चारतिरबाट पैसा लगेर खाएको छ। आधा दर्जन भन्दा बढि सहकारीको पैसामा उल्फाको धन फुपुको श्राद्ध भने झैँ मोज मस्तीमा उडाएको छ। दोहोरो नागरिकता प्रयोगको गरेको , दोहोरो राहदानी प्रयोग गरेको, पत्रकार सालिकराम पुडासैनीको आत्महत्या काण्डमा पसेको ,आफ्नो गाडीको ड्राईभर आफु बसेको घरको छतबाट खसि मरेको ,सकारिको पैसा निजि कम्पनीमा ल्याएर खाएको जस्ता काण्डै काण्डमा मुछिएका व्यक्तिले पसाउन खोज्दैछन भनेको कुरा कसरी पत्याउनु हौ ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *