आत्मालोचित हुँदै बाबुरामको आह्वान- हामीले बाटो बिरायौं, वैकल्पिक शक्तिको निर्माणमा जुटौं

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ शक्ति अभियानको स्थापनाकालदेखिका सबैलाई पुनः पार्टीमा एकताबद्ध हुन आह्वान गरेका छन् । उनले देशमा सच्चा अग्रगामी वैकल्पिक शक्तिको निर्माणमा जुट्न सबैलाई आह्वान गरेका हुन्।

उनले भनेका छन्, ‘नेसपा (नयाँ शक्ति)को हालै पोखरामा उल्लासका साथ सम्पन्न प्रथम विधान अधिवेशनले नयाँ शक्ति अभियानको स्थापनाकालदेखिका सबै साथीहरूलाई पुनः पार्टीमा एकताबद्ध भएर देशमा सच्चा अग्रगामी वैकल्पिक शक्तिको निर्माण गर्न आह्वान गरेको छ ।’

पछिल्ला घटनाक्रमहरूले देशलाई राजनीतिक अस्थिरता, भ्रष्टाचार, अल्पविकास, बेरोजगारी, जातीय/क्षेत्रीय/लैंगिक विभेद, परनिर्भरता, वैदेशिक हस्तक्षेपलगायतको दुष्चक्रबाट मुक्त गरेर छिटो समुन्नत र समतामूलक नयाँ नेपाल निर्माण गर्न स्पष्ट अग्रगामी विचार, नीति, कार्यक्रम, नेतृत्वसहितको वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यता रहेको थप पुष्टि गरेको उनले उल्लेख गरेका छन् ।

नेता भट्टराईले थपेका छन्, ‘यात्रा गर्दा बाटो विराएमा/हराएमा जहाँबाट विराएको हो, त्यही फर्कनू भन्ने लोकोक्ति छ । हामीले पनि जानेर/नजानेर नयाँ शक्ति निर्माण गर्ने क्रममा बाटो बिरायौं । म आफ्नो हिस्सामा पर्ने गल्ती/कमजोरीप्रति आत्मालोचित हुँदै कसैप्रति कुनै आग्रह पूर्वाग्रह नराखी सबै साथीहरूलाई यो महाभियानमा एकताबद्ध हुन हार्दिक अनुरोध गर्दछु ।’

उनले स्थापनाकालीन प्रतिबद्धताहरू र विशेषतः ऐतिहासिक ‘लुम्बिनी संकल्प’ पुनः एक पटक स्मरण गर्न आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *