रुपन्देही । साउन ९ गते शपथका लागि दौरासुरवाल लगाएर बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयबाट फर्काइएका नेपाली कांग्रेसका सांसद जन्मजय तिमिलसिनाले ३ महिनापछि मन्त्री बन्ने अवसर पाएका छन् । कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीको सिफारिसमा मुख्यमन्त्री चेतनारायण आचार्यले उनलाई सामाजिक विकास मन्त्री बनाएका हुन् ।
साउन ७ गते मुख्यमन्त्री बनेका चेतनारायण आचार्यले साउन ९ मा उनीसहित १० मन्त्रीको शपथका लागि प्रदेश प्रमुखकहाँ पत्र पठाएर सबैलाई खबर गरिएको थियो तर कांग्रेसभित्र रहेको संस्थापन र इतर समूहभित्रको चुलिँदो विवादका कारण संस्थापन समूहमा रहेका तिमिलसिना प्रदेश प्रमुखको कार्यालयबाट फर्काइएका थिए । प्रदेश प्रमुख कार्यालयका पुगेका उनी आफ्नो नाम नदेखेपछि सुटुक्क बाहिर आए र मोबाइल अफ गरेर हिँडेका थिए ।
तत्कालीन समयमा उनी पार्टीको तर्फबाट प्रमुख सचेतकको जिम्मेवारीमा थिए । एमाले नेतृत्वको सरकारमा पार्टीको नेतृत्व गरेर मन्त्रीको शपथ लिने तयारीमा पुगेका उनलाई पार्टी नेतृत्वले रोकेपछि उनी असन्तुष्ट हुँदै आएका थिए । दौरा सुरुवाल लगाएर प्रदेश प्रमुख कार्यालयमा पुगेका उनलाई पार्टी नेतृत्वको दबाबमा रोकिएपछि मोबाइल अफ गरेर निस्केका थिए ।
साउन १८ गते उनलाई पुनः मन्त्री बनाउने प्रचार गरियो तर अन्तिम समयमा साना दलको समेत एकै पटक मिलाउने गरी नभएको भन्दै रोकिएको थियो । त्यो दिन ९ गते मन्त्री बनेकाहरूलाई मन्त्रालय तोक्ने र उनलाई पनि मन्त्रीको शपथ खुवाउने गरी पार्टीले प्रचार गरे पनि अन्तिम समयमा रोकिएको थियो ।
पार्टी संस्थापन समूहमा रहेका उनलाई प्रदेशमा भने संस्थापन समूहकै नेताहरूले नरुचाएर यसो गरिएको स्रोतको भनाइ छ । उनी नेता आरजु राणा र बालकृष्ण खाँण निकट भए पनि प्रदेशमा ती नेता निकटबाटै रोकिएको कांग्रेस नेताहरूको आंकलन छ ।
आफूमाथि अन्याय भएको महसुस गरी साउन २४ गते तिमिलसिनाले नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रमुख सचेतकबाट राजीनामा दिएर पार्टी सभापतिसहितका शीर्ष नेताहरूलाई भेट्न काठमाडौँ गएका थिए । त्यो बेला उनले भनेका थिए–‘धेरै विषय तपाईँलाई थाहा छ, मैले राजीनामा दिएर काठमाडौँ आएको छु, गाडी पनि प्रदेश सभा सचिवालयमा छाडेर आएको हुँ ।’ कांग्रेस नेताहरू उनलाई इतर समूहभन्दा संस्थापन समूहबाटै रोकिएको दाबी गर्दछन् ।
‘उहाँ केन्द्रमा संस्थापन समूह खासगरी आरजुसँग निकट हुनुहुन्छ, तर प्रदेशमा उहाँकै समूहले पनि किनारा लगाउँदै आएको अवस्था हो, तर अन्तिम समयमा यसो गरिँदा अन्याय भएको थियो, ढिला भए पनि उहाँलाई न्याय भयो’, स्रोतले भन्यो, ‘मन्त्री बनेपछि तिमिल्सिनाले न्याय पाएको जनाएका छन् । पहिले किन रोकियो थाहा भएन, सबैको साथले न्याय पाएको छु, सके राम्रो गर्छु मलाइ काम गरेर देखाउने चुनौती छ ।’
अहिले कांग्रेसबाट ५ जना मन्त्री बनेका छन् । संस्थापन समूहबाट ४ जना र इतर समूहबाट १ जना मात्रै परेका छन् । ५ मध्ये ३ आज नै थपिएका हुन् । कांग्रेस भित्रको आन्तरिक किचलोले रोकिएको मन्त्रिपरिषद बिस्तारको टुंगो बुधवार मात्रै लागेको हो। ८७ सदस्य प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् ।
बुधवार तिमिल्सिनासँगै कांग्रेसका नवलपरासीबाट निर्वाचित देवकरण प्रसाद कलवार, जनता समाजवादीका आदेश कुमार अग्रवाल मन्त्री बनेका हुन् । अग्रवाल बाँकेको निर्वाचन क्षेत्र नं २ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा छन्।
तिमिल्सिनाले सामाजिक विकास मन्त्रालय, देवकरण कलवारले बन मन्त्रालय तथा अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाएका छन् ।
यस पटक मन्त्री बन्ने आशामा रहेका सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसदहरूको सत्ता यात्रामा यस पटक भने ब्रेक लागेका छ।
सरकारको नेतृत्व गरेको नेकपा एमालेबाट मुख्यमन्त्री आचार्यसँगै भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु र सिता शर्मा मन्त्री छन्। ढकाल भौतिक पूर्वाधार मन्त्री, पन्थी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, सारु स्वास्थ्य मन्त्री र शर्मा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री छन्।
सरकार गठन गर्दा पाँच वटा मन्त्रालय लिने सहमति गरेको नेपाली कांग्रेसबाट धर्मेन्द्र कार्की आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रचण्ड विक्रम न्यौपाने उद्योग, पर्यटन तथा यातायात मन्त्रालय र सरोज थापा (शहरी विकास तथा खानेपानी मन्त्रालय) मात्रै मन्त्री छन्।
सत्तासाझेदारहरुका बिचमा एमालेलाई मुख्यमन्त्रीसहित ५ नेपाली कांग्रेसलाई ५ र अन्य साना दललाई दुई मन्त्रालय दिने सहमति भएको थियो।

Leave a Reply