अधिकांश समस्याग्रस्त सहकारीमा बाहिर ताला, भित्र यस्तो चाला

काठमाडौं । सहकारी छानबिन संसदीय विशेष समितिको स्थलगत अनुगमनको क्रममा केही सहकारी बाहिर बन्द गरेर भित्र काम गरिरहेको पाइएको छ ।

समितिले तयार पारेको प्रतिवेदनअनुसार सुरूमा कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पुग्दा केही समयदेखि बन्द गरिएको संस्थाको आफ्नै जग्गामा भव्य/ठूलो भवन पाइएको छ । भने, सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पनि स्थलगत अनुगमनमा पुगेको थियो । सो सहकारीमा भने बाहिर ताला लगाएपनि भित्र भने खुला नै रहेको र कर्मचारी आई काम गर्ने गरेको स्थानीय बासिन्दाले जानकारी गराएका थिए ।

सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा पुग्दा सिभिल ग्रुप नाम लेखिएको मूल्यवान जमिनमा विशाल कम्प्लेक्स भवन रहेको समितिले देखेको छ । अर्को समस्याग्रस्त गौतमश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ताला खोली भित्र हेर्दा करोडौं मूल्यका हाइड्रोपावरका सामानहरू भवनभित्र यत्रतत्र छरिएका र बिग्रिने अवस्थामा रहेको पाइएको छ ।

मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अनुगमनका क्रममा उक्त सहकारी संस्थाका अध्यक्ष कुम्मराज गुरुङ्गसँग टोलीले छलफल गरेको थियो । भूतपूर्व गोरखा सैनिकहरूबाट सञ्चालित उक्त संस्थामा प्रबन्धक ज्योति गुरुङ्गले सहकारीको करोडौँ बचत रकम दुरुपयोग गरी संस्थालाई समस्यामा पारेको जानकारी दिए । संस्था भने अहिले पनि नियमित रूपमा सञ्चालनमा रहेको छ ।

सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अनुगमन टोली पुग्दा कर्मचारीहरू कार्यालयभित्रै रहेको र संस्था सञ्चालनमा रहेको पाइएको छ । संस्थाका अध्यक्ष नियमित कार्यालयमा उपस्थित भई बचतकर्ताको अलि अलि बचत फिर्ता गर्दैआएको बताएका छन् ।

अर्को समस्याग्रस्त लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बन्द रहेको कार्यालयमा ताला खोलेर हेर्दा अध्यारो, धुलाम्मे र खाली कोठाहरु मात्रै भेटेको थियो । गुण को–अपरेटिभ लिमिटेड हाल राम्रोसँग सञ्चालन भइरहेको जानकारी सहकारी संस्थाका कर्मचारीहरूबाट समितिले पाएको छ ।

गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा लगाइएको ताला खोली हेर्दा सहकारीका कम्प्युटर लगायतका मेशिनरी र कागजातहरू पूर्णरूपमा यत्रतत्र छरिएको र कार्यालयको लेआउट कुनै बैभन्दा कम नरहेको समितिले पाएको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको समेत स्थलगत अनुगमन टोलिले गरेको थियो । उक्त संस्थाका अध्यक्ष हाल कारागारमा रहेका र संस्था पूर्णरूपमा बन्द रहेको छ ।

नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थलगत अनुगमन क्रममा संस्थाका अध्यक्ष नुनम सुब्बा हाल कारागारमा रहेका र उनकी श्रीमतीसँग संस्थाबारे सोधपुछ गर्दा १२ बजेदेखि ३ बजेसम्म कारोबारसहित संस्था सञ्चालन हुदै आएको बताइन् । उक्त संस्था नेफ्स्कुनले लिलामी गरी लिएको जानकारी पाइएको छ ।

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडकाको कार्यालयमा २ वटा ताला लगाएर बन्द गरिएको छ । अध्यक्ष सीवी लामा हाल कारागारमा रहेका छन् । नेपाल वित्तीय सहकारी संस्था लिमिटेड हाल बन्द रहको छ । भने, संस्था रहेको घरका केही कोठाहरू भाडामा लगाइएको प्रतिवेदनमा उल्लेख छ ।

Comments

One response to “अधिकांश समस्याग्रस्त सहकारीमा बाहिर ताला, भित्र यस्तो चाला”

  1. Raj Avatar
    Raj

    सहकारी खोल्यो। अर्काले दुख गरेर बचत गरेको पैसामा मोज गर्यो। कति घिन लाग्दो व्यवसाय छ्या ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *