कुमारी बैंककी पुरानो कर्मचारीमाथि हुन्डी कारोबारको अभियोग, आफूविरुद्ध बैंकले षड्यन्त्र गरेको बयान

काठमाडौं । कुमारी बैंकमा २० वर्षदेखि कार्यरत एक कर्मचारीमाथि हुन्डी कारोबारको आरोप लागेको छ । बैंकले नै ५१ वर्षीया तिप्ती राणामाथि अनुसन्धानका लागि प्रहरीलाई पत्र पठाएको छ ।

काठमाडौं प्रहरी परिसरले तिप्तीलाई तीन साता हिरासतमा राखेर अनुसन्धान गरेपछि हाजिरी जमानीमा छाडेको थियो । राणाको बैंक खातामा पैसा जम्मा गर्ने बुटवल मनी ट्रान्सफरका सन्चालक सहदेवविक्रम शाहलाई पनि प्रतिवादी बनाइएको छ ।

कुमारी बैंकले राणालाई तलब जम्मा गर्न खोलिदिएको खातामा शंकास्पद रकम जम्मा भएको देखिएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरेको थियो ।

कुमारी बैकका अनुसार कुनैपनि कर्मचारीले बैंकमा रहेको कर्मचारी बचत खातामा बैंकले भुक्तानी दिने तलब, भत्ता सुविधा बापतको रकमबाहेक अन्य तेस्रो व्यक्तिबाट प्राप्त रकम जम्मा गर्दा मानव संसाधन विभागलाई पूर्वजानकारी गराउनुपर्छ । तर, राणाले जानकारी नगराएको दाबी गरिएको छ । अस्ट्रेलियामा रहेका बुबा र छोराले पठाएको रकम राणाको खातामा हुन्डीमार्फत जम्मा भएको बैंकको भनाइ छ ।

प्रहरीका अनुसार बुटवल मनी ट्रान्सफरले आफ्ना कर्मचारीमार्फत राणाको खातामा सन् २०१९ देखि २०२३ को बीचमा २२ पटकमा गरेर १७ लाख ९३ हजार ५ सय ६० हजार रूपैयाँ जम्मा गरेको देखिएको छ । अनुसन्धानका क्रममा मनी ट्रान्सफरका सञ्चालकले पनि पनि राणाको विदेशमा रहेका आफन्तको निर्देशनमा उक्त रकम जम्मा गरेको बयान दिएका छन् ।

यता तिप्तीले भने आफूविरुद्ध कुमारी बैंक प्रशासनले पूर्वाग्रहपूर्ण तरिकाले फसाउन खोजेको दाबी गरेकी छिन् । बैंकका कर्मचारीका लागि खोलिदिएको खातामा आफूले खोलेदेखि नै अन्य रकमहरू पनि जम्मा गर्ने गरेको र सबै कर्मचारीले त्यसो गर्ने उनको भनाई छ ।

आफू कुमारी बैंक कर्मचारी स्वतन्त्र युनियनको उपाध्यक्ष रहेकाले कर्मचारीको हकहितका लागि बोल्दा आफूविरुद्ध षड्यन्त्र भएको उनले बयान दिएकी छिन् । त्यसबीचमा आफूलाई बैंकका सीईओले सरुवा गर्न खोज्दा श्रम विभाग र श्रम अदालतमा उजुरी गरेको पनि उनको भनाइ छ । आफ्नो कर्मचारी खाता दुरुपयोग नभएको उनले विदेशबाट बुबा र छोराले पठाएको रकम जम्मा भएको पनि स्वीकार गरेकी छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *