जनकपुरधाम उद्योग बाणिज्य संघको चुनाव: अध्यक्षमा सुरेन्द्र, जितेन्द्र र मनिषको उम्मेदवारी, छायाँमा निधी र महासेठको लडाई

जनकपुरधाम । जनकपुरधाम उद्योग बाणिज्य संघको अध्यक्षका लागि तीनजना सुरेन्द्र भण्डारी, जितेन्द्र प्रसाद साह र मनिष रमन साह मैदानमा उत्रेका छन् ।

आगामी भदौं २९ मा संघको निर्वाचन हुँदैछ । अध्यक्षका लागि पहिलेदेखि चर्चामा रहेका सुरेन्द्र, जितेन्द्र र रमण शुक्रवार उम्मेदवारी दर्ता गराएका हुन् ।

विशेष तामझामका साथ उम्मेदवारी दर्ज गराएका तीनैजना अध्यक्षका उम्मेदवारले आफूले नै बाजी मार्ने दावी गर्छन् ।

सुरेन्द्र भण्डारी होटल व्यावसायी हुन् । उनी संघको उपाध्यक्ष भइसकेका छन् । संघको अघिल्लो चुनावमा उनी बरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए ।

उनलाई बरिष्ठ उपाध्यक्षमा पराजित गर्दै मनिष रमन साह बाजी मारेका थिए । उनै मनिष अहिले सुरेन्द्रसँगै पुनः अध्यक्षमा भिडेका छन् । त्यसैले सुरेन्द्र र मनिषको उम्मेदवारी चर्चामा छ ।

अर्का अध्यक्षका उम्मेदवार जितेन्द्र प्रसाद साह संघको चुनावमा अनुभवी मानिन्छन् । संघको अघिल्लो चुनावमा अध्यक्षमा उनी पराजित भएका थिए । तर पटक पटक विभिन्न पदमा निर्वाचित भएर संघको लामो अनुभव प्राप्त गरेका छन् ।

अल्मुनियम व्यावसायी जितेन्द्र र सुनचाँदी व्यवसायी मनिष दुबैजना नेपाली कांग्रेससँग आबद्ध छन् । तर कांग्रेस नेताहरु कसलाई सहयोग गर्ने निष्कर्षमा नपुगेको सो पार्टीका एक नेताले बताए ।

जनकपुरधाम धनुषा क्षेत्र नम्वर ३ मा पर्छ । यो क्षेत्र एमालेकी जुली महासेठ र कांग्रेसका विमलेन्द्र निधीको हो । जुली अहिले निर्वाचित संघीय सांसद छन् । यी दुबै नेताको व्यापारीहरुको चुनावमा अप्रत्यक्ष प्रतिस्पर्धा हुने स्थानीय बताउँछन् ।

निधी र महासेठ दुबैको जनकपुरधामका व्यापारीमा राम्रो पक्कड छ । त्यसैले उनीहरुको समर्थन पाउने उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

सुरेन्द्रलाई जुली महासेठको सहयोग रहनेछ । स्रोतका अनुसार जितेन्द्र र मनिषले कांग्रेस नेता निधीसँग सहयोग मागेका छन् । तर निधीले जितेन्द्रलाई सहयोग गर्ने संकेत गरेका छन् । निधीको सहयोग पाएमा जितेन्द्र र जुलीका समर्थक सुरेन्द्रबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ ।

४३ उम्मेदवार मैदानमा

मनोनयन दर्ताको सूची अनुसार अध्यक्षसहित १७ सदस्यीय कार्यसमितिका लागि ४३ जनाको उम्मेदवारी परेको छ । अधिकांश पदमा तीन जनाबीच प्रतिस्पर्धा हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि पनि तीनजना मनोजकुमार साह, विकासकुमार चौधरी र अम्भुप्रसाद साह उम्मेदवार बनेका छन् । उपाध्यक्षमा लक्ष्मण साह र विश्वनाथ साह सुडी तथा महिला उपाध्यक्षका लागि रिंकु साह, माया कुमारी र सरिता ठाकुर उम्मेदवारी दिएकी छन् ।

महासचिवका लागि चारजना फुलदेव पण्डित, गणेशकुमार साह, अशोककुमार चौधरी र सुधीर पजियार उम्मेदवार बनेका छन् ।

यस्तै सचिवका लागि पनि चारजना नरेन्द्रविक्रम साह, मनोजकुमार शर्मा, राकेशकुमार साह र परमेश्वर साह प्रतिस्पर्धामा उत्रेका छन् । एशोसिएट सदस्यमा दिपककुमार साह र अभिषेककुमार चौधरीले भिडेका छन् ।

६ जना कार्यसमिती सदस्यका लागि रमेश महतो, सन्तोषकुमार गामी, मणिशंकर प्रसाद साह, दुर्गेशकुमार साह, दिपमणि साह, प्रवीणकुमार साह सोनार, सुरेन्द्र दास, धर्वेन्द्र साह, गौरीशंकर साह, निरजकुमार साह, रामजीवन साह, राकेशकुमार साह, जीवछ साह, वलरामकुमार साह, धु्रबकुमार साह र सुनिल दास कथबनियाले उम्मेदवारी दिएका छन् ।

यस्तै सम्बद्ध सदस्यमा जनकपुर कपडा तथा रेडिमेड र जनकपुर सुनचाँदी व्यवसायी संघको उम्मेदवारी परेको छ ।

संघको निर्वाचनमा ४ हजार ७६ सदस्यले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *