काठमाडौं । ‘देवी प्रतिभा’ नामले परिचित प्रतिभा पराजुली पशुपतिमा आयोजित कोटी होममा भाग लिएर आज भारत फर्केकी छन् । आफ्नो १४ दिनको नेपाल बसाइमा उनले प्रशस्तै चर्चाका साथै विवाद र आलोचनाको पनि सामना गर्नुपर्यो ।

यो भ्रमणभन्दा अगाडि देवी प्रतिभा नेपालमा कमै परिचित थिइन् । नेपालमै जन्मेकी, नेपाली छोरी भए पनि उनले भारतलाई कर्मथलो बनाउँदै आएकी छन् । काभ्रेके मण्डनदेउपुरामा उनको जन्म भएको हो । साधुराम पराजुली र इन्दिरा पराजुलीकी माइली छोरी भएर जन्मेकी उनी बाल्यकालदेखि नै वृन्दावन बस्न थालिन् । अहिले उनी भारतका विभिन्न स्थानमा धार्मिक कथावाचन र प्रवचन दिँदै हिँडिरहेकी छन् ।
मधुर मुस्कानसहित सुरिलो स्वरमा कथा भन्नु प्रतिभाको विशेषता हो । सौन्दर्यले पनि भरिपूर्ण भएकी हुँदा उनको कथावाचन मनमोहक हुन्छ । बेलाबेला दोहोर्याउने थेगोहरू ‘प्यार से बोलोन…’ ‘थोडा जोर से बोलोना…’ मस्तिमे बोलेन… ’ ले सुनमा सुगन्ध थप्ने काम गर्छन् । यद्यपि, उनको प्रवचनमा गहिराइ भने हुँदैन । बौद्धिकस्तर छिपछिपे छ । उनको शैक्षिक योग्यता न्यून रहेको स्रोतहरू बताउँछन् ।
एपी वान टेलिभिजनलाई केही दिनअघि दिएको एक अन्तरवार्तामा प्रतिभाले आफ्नो अध्ययनको सिलसिलाबारे वर्णन गरेकी थिइन् । आफ्नो आध्यात्मिक रुझानलाई देखेर १२/१३ वर्षको उमेरमा बुवाले भारतको बृन्दावन पठाइदिएको उनले बताएकी छन् ।
प्रतिभा भन्छिन्, ‘सुरूवातमा बनेपाको पञ्चकुमारी स्कुलमा नर्सरी पढेको हुँ । त्यसपछि १/२ वर्ष गाउँमा गएर बस्यौं । त्यहाँ २ कक्षासम्म नवप्रतिभा बोर्डिङमा पढेँ । तर, मैले स्कुल नजाने जिद्दी गरेँ । पछि काठमाडौं आएर संस्कृत पढेँ । अली ठूलो भएपछि मेरै जिद्दीमा बुवाले वृन्दावन लिएर जानुभयो ।’
आफूले भारतको वृन्दावन र अयोध्यामा अध्ययन गरेको उनको भनाइ छ ।
आफूलाई हीरासँग तुलना गर्दै उनले भनिन्, ‘मैले निकै संघर्ष गरेँ । भनिन्छ नि, हीरा पनि चम्किनका लागि रगड्नुपर्छ । त्यसैगरी मैले पनि धेरै संघर्ष झेलेर आज यो स्थानसम्म आएको हुँ ।’
त्यसपछि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले सोध्छन्- यतिखेर तपाईं संस्कृतमा आचार्य ?
प्रतिभाले मुन्टो हल्लाउँदै ‘अँ’ मात्रै भन्छिन्, थप केही बोल्दिनन् ।
हौस्याउँदै सुवेदीले भन्छन्, ‘मैले सुनेको, तपाईं वृन्दावन गएपछि एक वर्षको कोर्स ६ महिनामा नै पूरा गर्नुहुन्थ्यो रे ।’
प्रतिभा भन्छिन्, ‘हो । त्यहाँ कन्याहरूलाई पढाउने एउटा विद्यालयमा एक वर्षका लागि भर्ना भएको थिएँ, तर ६ महिनामै सकेर मैले त्यही विद्यालयमा पहिलो भागवत कथावाचन गरेको हुँ ।’
त्यसपछि अझै सिक्ने र खोज्ने क्रममा अरु-अरु ग्रन्थ पढेको उनले सुनाइन् । तर, एकेडेमिक डिग्रीबारे ठोसरूपमा बताउन सकिनन् । शास्त्री (बीएसरह) र आचार्य (एमएसरह) कहाँ पढेको हो भन्ने उल्लेख गरिनन् ।
पारिवारिक स्रोतका अनुसार कार्यक्रममा दाबी गरिएजस्तो प्रतिभाले आचार्यसम्म अध्ययन गरेकी छैनन् । उनले बढीमा उत्तरमध्यमा (आईएसरह) पढेको हुनसक्ने स्रोतले बतायो ।
‘यदि कतैबाट पैसा खर्च गरेर सर्टिफिकेट बनाएको भए बेग्लै कुरा, उहाँले पढेरै डिग्री हासिल गर्नुभएको चाहीँ छैन,’ स्रोतले भन्यो ।
पंक्तिकारले प्रकाश सुवेदीलाई फोन गरेर सोध्यो, ‘तपाईंले आफ्नो कार्यक्रममा देवी प्रतिभाले आचार्य पढेको भनेर के आधारमा भन्नुभएको हो ?’
सुवेदीले प्रतिभाले नै आफ्नो प्रोफाइलमा ‘आचार्य अध्ययन’ भनेर टिपाएको बताए ।
‘मैले शास्त्री पढेको सुनेको थिएँ, उहाँले आचार्य टिपाएपछि त्यसैलाई विश्वास गरेको हुँ,’ उनले भने ।
पढाइमात्र होइन, कार्यक्रममा बोलिएका अन्य विषयवस्तुहरू पनि भ्रामक रहेछन् भन्ने बुझेर सुवेदी अहिले आफैं स्तब्ध छन् ।
जस्तो कि कार्यक्रममा प्रतिभालाई भारत सरकारले नै सुरक्षाकर्मी उपलब्ध गराएको दाबी गरिएको थियो । प्रतिभा स्वयम्ले आफूसँग केही सरकारी सुरक्षाकर्मी रहेको बताएकी छन् । उनी सुवेदीलाई अन्तरवार्ता दिन जाँदासमेत ८-१० जना बडीगार्ड लिएर आएकी थिइन् ।
यस्तो थियो सवालजवाफः
प्रकाश सुवेदी, ‘यत्रो ठूलो सुरक्षाकर्मीहरूको खर्च कसले व्यहोर्छ ?’
प्रतिभाः यसको खर्च… कार्यक्रम जसले गराउनुहुन्छ, आयोजक समितिले, हाम्रो राष्ट्रसेवा परिवारले (आफूले चलाइरहेको संस्था र कुनै सरकारले पनि ।
सुवेदी खुशी हुँदै भन्छन्ः अहिले तपाईंसँग सरकारले दिएका सुरक्षाकर्मीहरू पनि हुनुहुन्छ ?
देवी (मुस्कान छोड्दै) : हजुर हजुर ।
‘सरकारले’ भनेर प्रतिभाले भारतीय सरकारलाई ईंगित गरेकी हुन्, किनकी नेपालमा त यसअघि उनको कुनै पनि गतिविधि थिएन । तर, उनलाई भारत सरकारले सुरक्षाकर्मी उपलब्ध गराएको कुनै पनि सूचना र जानकारी हामीले कतै भेट्टाउन सकेनौं ।
कोटीहोममै पुगेर एकजना बडीगार्डलाई सोध्दा उनले आफूहरूलाई दैनिक १२ सय भारुमा प्रतिभाले केही दिनका लागि भर्ती गरेको बताए ।
हिजो आयोजित पत्रकार सम्मेलनमा प्रतिभाले आफूले भारतमा ६०-७० जनासम्म बडीगार्ड लिएर हिँड्ने गरेको दाबीसमेत गरेकी छन् ।
उनले यो पनि भनिन्, ‘नेपाली चेलीको यो रुतवा/जलवाप्रति सबैले गर्व गर्नुपर्छ ।’
यदि साँच्चै भारत सरकारले नै उनलाई यति बलियो सुरक्षा दिएको थियो भन्ने पक्कै उनको ‘जलवा’ प्रति गर्व गर्न सकिन्थ्यो । तर, आफैंले पैसा दिएर निजी बडीगार्ड भर्ति गर्न त जसले पनि सक्दैन र ?
अर्को महत्वपूर्ण प्रसंग विवाहको । यो प्रसंग महत्वपूर्ण हुने थिएन, यदि प्रतिभाले साँचो बोलेको भए । उनलाई धेरैले अविवाहित सम्झिएका छन् । उनले पनि अहिलेसम्म आफूलाई अविवाहितरूपमा नै पेश गर्दै आएकी छन् ।
प्रकाश सुवेदीसँगको अन्तरवार्तामा उनको विवाहबारे पनि सवालजवाफ गरिएको थियो ।
सुवेदीले सोध्छन्, ‘भविष्यमा के गर्ने त ? यसैगरी कथावाचन गरेर मात्र हिँडिरहने कि विवाह वन्धनमा पनि बाँधिने ?’
उनले सैद्धान्तिक जवाफमात्र दिएकी छन्, ‘यस्तो हो, भविष्यलाई कसैले पनि देख्न सक्दैन । भगवानले पनि स्वीकार गर्नुभएको छ, गृहस्थ धर्मलाई । गृहस्थ आश्रममा प्रवेश गरेर भगवत प्राप्त गर्न सकिन्छ । भगवानलाई पाउन साधु-सन्त नै बन्नुपर्छ, बनमा गएर भगवान खोज्नुपर्छ भनेर कहीँ पनि लेखिएको छैन । मलाई गृहस्थ आश्रमबाट केही दिक्कत छैन । मत भन्छु सबैभन्दा उत्कृष्ट आश्रम हो । म आफूलाई सन्न्यासी साधुसन्त बनेर चिनाउन चाहन्न ।’
सुवेदीको पुरक प्रश्नः केही सोच्नुभएको छ त ?
प्रतिभाः भोलिको प्लान आज गरेर चल्दैन । भोलि के होला भन्ने सोच्नमा विश्वास गर्दिनँ । आज जे होला होला । भोलि के हुन्छ स्वीकार गरौंला ।
यथार्थमा देवी प्रतिभा विवाहित रहेको तथ्य नेपाल प्रेसले प्राप्त गरेको छ । उनको विवाहका तस्बिरसमेत भेटिएका छन् । उनका श्रीमान भारतीय हुन्, जो अहिले बाल प्रभूजी महाराज नामले चिनिन्छन् । उनको वास्तविक नाम शैलेन्द्र नन्द हो ।

उत्तर प्रदेश निवासी शैलेन्द्रपत्नी प्रतिभाजस्तै कथावाचक हुन् । उनीहरू दुवैले एकैसाथ कथावाचनको प्रशिक्षण लिएको बुझिएको छ । कथावाचनमा श्रीमानभन्दा श्रीमती बढी डिमान्डेड छिन् । सामाजिक सञ्जालमा फलोअर्स पनि प्रतिभाका धेरै छन् । प्रतिभाको युट्युव च्यानललाई ११ लाख ८० हजारले सब्स्क्राइब गरेका छन् भने बाल प्रभुजीका सब्सक्राइबर्स १६ हजार १ सयमात्रै । यस्तै, फेसबुकमा प्रतिभाको फलोअर्स २४ लाख छन् । नेपाल आएपछि सामाजिक सञ्जालमा उनको फलोइङ ह्वात्तै बढेको देखिन्छ । शैलेन्द्रको फेसबुक फलोअर्स ३ लाख १२ हजार छन् ।
देवी प्रतिभाले सञ्चालन गर्ने भनिएको राष्ट्र सेवा परिवारमा शैलेन्द्र अध्यक्ष छन् । श्रीमान र श्रीमतीले प्रवचनमा बोल्ने कुराहरू लगभग उस्तै हुन्छन् । प्यार से बोलो ना.. भन्ने थेगो श्रीमानले पनि प्रयोग गर्ने गरेका छन् । साथै दुवैजना उस्तै रुढीवादी चिन्तनबाट ग्रस्त भएको पाइएको छ ।
एउटा प्रवचनमा शैलेन्द्र भन्छन्, ‘हरेक पत्नीले बिहान आफ्नो पतिभन्दा अगाडि नै उठ्नुपर्छ । यो पतिव्रता नारीको लक्षण हो । जो पति आफ्नो पत्नीलाई सेवा गर्छन्, यो ठीक होइन । पत्नीको सेवा पतिले गर्नु हुँदैन । अहिले त पत्नीहरुले साथीहरुलाई खुशी हुँदै सुनाउँछन्- मैले भान्सामा तरकारी काट्दा मेरो पतिले पिठो मुछ्नुहुन्छ । के तपाईंहरू यसलाई ठीक मान्नुहुन्छ ? यो ठीक होइन । जुन काम पत्नीको हो, त्यो पतिले गर्नु राम्रो हुँदैन ।’

प्रतिभाले के कारणले वैवाहिक अवस्था लुकाइरहेकी हुन् भन्ने स्पष्ट छैन । विवाहितले कथावाचन गर्न नपाउने कानून वा धार्मिक मान्यता हुँदैन । श्रीमान र श्रीमती दुवैले फरक-फरक पहिचान कायम गर्ने उनीहरूको ध्येय हुन सक्छ ।
प्रतिभाले आफ्नो उमेर पनि ढाँटिरहेकी छन् । उनले आफू २३ वर्षमात्र भएको प्रचार गरिए पनि पारिवारिक स्रोतका अनुसार उनको वास्तविक उमेर २८ वर्ष हो ।
प्रतिभा एक प्रतिभाशाली युवती अवश्य हुन् । उनका प्रवचनहरू कर्णप्रीय हुन्छन् । अडियन्सलाई मन्त्रमुग्ध पार्ने क्षमता राख्छिन् । उनले कम उमेरमै भारतजस्तो विशाल जनसंख्या भएको देशमा आफ्नो पहिचान बनाउन सफल भइन् । आफ्नो माटोकी एक चेलीले अन्तर्राष्ट्रिय ख्याति कमाउँदा हरेक नेपालीलाई खुशी लाग्छ नै । उनले कुनै पनि झूट बोल्नुपर्ने आवश्यकता नै छैन
*उनकाे अर्काे सह्राहनीय पक्ष भनेकाे देशप्रेम हाे । उनकाे अभिव्यक्तिहरूमा आफणनाे जन्मभूमिप्रति असिम श्रद्धा झल्किन्छ । उनले फर्किने बेला त्रिभुवन विमानस्थल अगाडि माटाेमा ढाेगेकी थिइन् । भारतीयसँँग विवाह गरे पनि नेपाली पहिचान बाेकेर नै हिँडिरहेकी छन् ।
आफ्नो माटोकी एक चेलीले अन्तर्राष्ट्रिय ख्याति कमाउँदा हरेक नेपालीलाई खुशी लाग्छ नै । उनले कुनै पनि झूट बोल्नुपर्ने आवश्यकता नै छैन । साथै, एउटा धर्मप्रचारकले दायाँबायाँ बाउन्सरहरू राखेर प्रवचन दिनुजस्तो आडम्बर अरु केही हुन सक्दैन । यस्तो नचाहिँदो तुजुकले हिन्दू धर्ममाथि औंला उठाउनेहरूलाई नै बल मिल्ने हो । उनी सेलिब्रिटी होइनन्, एक साधिका हुन् । उनको जीवन शैली सरल र सालिन हुनुपर्छ ।
आखिर उनी कोबाट असुरक्षित छिन् ? उनले आफू जहाँ जाँदा पनि भिड लाग्ने भएकाले बडीगार्ड चाहिने बताइरहेकी छन् । भक्तजनहरूको लहरलाई ‘भिड’ भन्नु र उनीहरूबाट आफू असुरक्षित हुने ठान्नु अपमानजनक हो । भिडले अवरोध नै भइहाल्यो भने त्यहाँ सरकारकै सुरक्षाकर्मीहरू भइहाल्छन् । त्यसैले देवी प्रतिभाले आफ्नो यो तुजुकलाई बन्द गर्दा राम्रो । बाँकी कुरा त- प्यार से बोलो न ।

Leave a Reply