माधव नेपालको जिकिर- नेकपा एसमा वैचारिक मतभेद छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र वैचारिक मतभेद नरहेको दाबी गरेका छन् । अनेमसंघ (समाजवादी) को मुखपत्र विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू सबैको लक्ष्य समाजवाद भएको बताए ।

उनले भने, ‘महाधिवेशन एकताबद्ध भएर गरियोस् भन्ने कुरा आएको छ । बहुत राम्रो र सुन्दर कुरा हो । त्यही विषयमा सबैले विचार गर्नु राम्रो हुन्छ । यो आन्दोलन अप्ठ्यारो अवस्थामा अगाडि बढाएका हौं । त्यो बेलामा खुट्टा कमाएर धर्मर गरेको भए पार लगाउनसक्ने थिएनौं । चुनौतीको बेलामा मानिसहरूको पहिचान हुन्छ ।’

उनले आफूहरूले कम्युनिष्ट आन्दोलनको रक्षा गर्नको लागि समाजवादी मोर्चा हुँदै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध गरेर अगाडि बढ्ने प्रयास भइरहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन । किनभने समाजवादी कार्यक्रमलाई झण्डा फहराउँदै अघि सार्ने हाम्रो पार्टीको नाम नै हो नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) यो समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौं भनेर पहिलो दिनदेखि नै पाईला त्यतैतिर सारेका छौं । हामी यो महाधिवेशनबाट नै पहिलो पार्टी बन्न गइरहेका छौं जसले नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्दैछ । र यसको निम्ति हाम्रो सम्पूर्ण नेता र कार्यकर्ताहरुको सामुहिक बुद्धिबाट नै हामीले दस्तावेजहरू अगाडि सारिरहेका छौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *