झलनाथको दस्तावेज- कांग्रेस मुख्य दुस्मन, पूर्वराजादेखि सीके राउत र रेशम चौधरी दलाल पुँजीवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले समाजवाद प्राप्तिको लागि अघि बढ्ने क्रममा मुख्य दुश्मन शक्ति र प्रधान अन्तरविरोध किटान गर्नुपर्ने भन्दै अध्यक्ष माधव नेपाललाई चुनौती दिएका छन् ।

नेकपा एसको आसन्न महाधिवेशनमा छलफलका लागि उनले पार्टीमा पेश गरेको ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ नामक ६५ पेज लामो दस्तावेजमा नेपाली कांग्रेसलाई समाजवाद प्राप्तिको आन्दोलनको प्रमुख बाधक किटान गरेका छन् ।

अध्यक्ष माधव नेपालले कांग्रेसलाई प्रमुख विरोधी शक्ति किटान गर्नु नेकपा एस सकिने बाटो हुने भन्दै खनालको प्रस्तावको ठाडै विरोध गरेका छन् । नेपालको दस्तावेजमा एमालेको तीव्र विरोध गरिएको छ भने कांग्रेसको आलोचना छैन ।

यो पनि पढ्नुहोस्- माधव नेपालको प्रतिवेदन- एमाले दक्षिणपन्थी अवसरवादीहरूको झुण्ड, ओली स्वेच्छाचारी र प्रतिगामी (पूर्णपाठ)

खनालले भने कांग्रेसलाई नव उदारवादी र दलाल पुँजीवादको प्रतिनिधित्व गर्ने पार्टी भनेका छन् । उनले समाजवादी क्रान्ति सम्पन्न गर्ने क्रममा कांग्रेससँग कम्युनिष्ट पार्टीहरूको अन्तरविरोध बढ्ने दावी गरेका छन् । खनालले एमाले र माओवादीसँग सहकार्य गर्ने प्रस्तावसमेत राखेका छन् ।

खनालले मंगलबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश गरेको प्रस्तावमा पूर्वराजा ज्ञानेन्द्र शाहदेखि लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति र राप्रपालाई समेत दलाल पुँजीवादका प्रतिनिधि भनेका छन् ।

खनालको दस्तावेजमा भनिएको छ- यतिबेला नेपालमा पुँजीवादी संसदभित्र र बाहिर हेर्दा दलाल पुँजीवादलाई प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक गुटहरू छन । पूर्वराजाको गुट, राप्रपाको गुट, लोसपाको गुट, जनमत पार्टीको गुट, नागरिक उन्मुक्ति पार्टीको गुटलगायत साना, मझौला राजनीतिक गुटहरू छन् । तिनीहरू विभिन्न साना, मझौला राजनीतिक पार्टीका रूपमा संसदमा पनि प्रतिनिधित्व गर्दछ । यी सबै पुँजीवादी पार्टीहरू नै हुन । तर, तिनीहरू कोही पनि राष्ट्रिय पुँजीपति वा निम्न पुँजीपति पार्टीलाई प्रतिनिधित्व गर्ने चरित्र देखाउँदैनन । तर, उनीहरू सबैजसो आम रूपमा दलाल पुँजीवादलाई नै प्रतिनिधित्व गरिरहेका देखिन्छन् । यी कुनै पनि राजनीतिक गुटसँग नेपाली जनताको प्रमुख राजनीतिक अन्तर्विरोध छैन । उनीहरूका पनि गलत काम, कृयाकलाप र नीतिहरूको विरोध र भन्डाफोर गर्नुपर्छ । तर, उनीहरू कुनै पनि नेपाली जनता र समाजवादी क्रान्तिकारीहरूका मुख्य प्रतिद्वन्द्वी होइनन् ।

तर, जहाँसम्म नेपाली कांग्रेसको कुरा छ, यो उदारवाद/नवउदारवाद तथा दलाल पुँजीवादको हित प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक पार्टी हो । समाजवाद निर्माणको प्रक्रियामा त्यससँग लामोसमयसम्म अन्तरविरोध रहने छ । यो कम्युनिष्ट पार्टीसँग सँगै जस्तो जन्मिएर आएको पार्टी हो । यो पार्टीले पुँजीवादी जनवादी क्रान्तिको समग्र काल भरि नै उदार जमिन्दार र दलाल नोकरशाही पुँजीपति वर्गको प्रतिनिधित्व गर्दै आयो । यो उदार पुँजीवादी व्यवस्था र संसदीय लोकतन्त्रका पक्षमा छ । यो आजको पुँजीवादी शोषण, दमन र अन्यायपूर्ण सामाजिक व्यवस्थाको पक्षमा छ । तिनीहरूलाई संरक्षण गर्न चाहन्छ र समाजवादी क्रान्ति र रुपान्तरणका विरुद्ध छ । यो साम्राज्यवादीहरूसँगको सम्बन्धलाई बलियो बनाउने पक्षमा छ । पछिल्लो अवधिमा वामपन्थी आन्दोलन विभाजन हुँदै जाने क्रममा यो पार्टीले आफूलाई सुदृढ गर्दै ल्याएको छ ।

Comments

2 responses to “झलनाथको दस्तावेज- कांग्रेस मुख्य दुस्मन, पूर्वराजादेखि सीके राउत र रेशम चौधरी दलाल पुँजीवादी”

  1. Lekh Nath Paudel Avatar
    Lekh Nath Paudel

    अब एमालेले झलनाथ खनाललाइ एस पार्टीको अदक्ष बनाएर एमालेमा गाभ्ने निश्चित छ। प्रधान शत्रु एमाले भन्ने माकुनेको इतिहास मेटिन सक्छ ।

  2. bharat kumar thapa Avatar

    माधवकुमार नेपाल र झलनाथ को राजनीतिक दस्तावेजमा रहेको फरकले नै राष्ट्रबादी धार र दलाल पुजीवादी धारको नेतृत्व कसकसले बोकेका छन नेपाल र नेपालीजनताले राजनीतिक रूपमा बुझेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *