नयाँ समीकरणबारे माधव नेपाल- घुम्तीबाट मोड्दा दुर्घटनामा नहोस् भन्नेमा सचेत छौँ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ०७४ को अवसरलाई सदुपयोग गर्न नसके पनि गल्ती स्वीकारेर अगाडि बढ्न सक्नुपर्ने बताएका छन्।

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै संविधान विपरीत कार्यलाई अझै सही गरेँ भन्दै हिँडेकाले समस्या भएको उनको भनाइ छ।

पार्टी निकट अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘०७४ सालमा मौका पाएर दुई तिहाइमा पुगेको स्थिति थियो। त्यो सदुपयोग गर्न सकेनौँ। त्यो गल्ती महसुस गरेर आत्मालोचना गर्नुपर्छ कि भनेर हामीलाई त्राहिमाम् भएको छ। गल्ती हुनसक्छ, स्वीकार गर्ने, नदोहोर्‍याउने, अहिले पनि संसद् विघटन गरेको ठिक छ भन्दिने, संविधान मिचेर ठिक गरियो भन्दिने, यस्तो कुरा जान हुँदैन। त्यही पनि अब पुरानो कुरा नगरौँ भने पनि ठिकै छ।’

उनले अब पुराना कुरा छाडेर नयाँ हातेमालो गर्दै अगाडि बढ्न प्रस्ताव गरे। उनले आफूहरू कम्युनिष्ट आन्दोलनको रक्षाको लागि समाजवादी मोर्चा गठन गरेको बताए।

उनले भने, ‘अहिले समाजवादी मोर्चा बनाएका छौँ। जिल्ला तहको कार्यक्रम गर्ने तयारी छौँ। अरू पनि आउँछन् भने स्वागत गरेका छौँ। अरू आउँदैनन् भने हामी गाली गर्दैनौँ, हाम्रो त्यस्तो संस्कार छैन। मान सम्मान गर्ने बानी बसेको मान्छौँ, कसैलाई पीडा नहोस् भन्ने ठान्ने मान्छे।’

उनले नयाँ सत्ता समीरणमा असन्तुष्टि जनाउँदै कुनै बेला सोझो औलाले घिउ ननिस्किएपछि बङ्ग्याउनुपर्ने बाध्यता आइलाग्ने सुनाए।

उनले भने, ‘राजनीतिमा कहिलेकाहीँ त्यस्तो पनि चाहिन्छौँ। तर, अनुचित कार्य हुँदैन। देशको राजनीतिक गलत दिशातर्फ नजाओस् भन्ने कुरामा हामी सजग छौँ। सही दिशातर्फ अगाडि बढोस् भन्ने पक्षमा छौँ। कताबाट यो बाटो घुम्छ त्यो पनि विचार गरिरहेका छौँ। घुम्ती बाटोमा हिँड्दादेखि, मोटर घुमाउँदा दुर्घटनामा नपरोस् भन्ने कुरामा विचार गरिरहेका छौँ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *