पूर्वाञ्चल विश्वविद्यालयमा ३०० शैय्याको अस्पताल र विराटनगर चक्रपथ निर्माण अघि बढाउने प्रधानमन्त्रीको घोषणा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनमा ल्याइ गुणस्तरीय स्वास्थ्य सेवाका लागि सरकारले पहल गर्ने बताएका छन् ।

विश्वविद्यालयको १२ औं दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताए । ‘यस क्षेत्रका जनताका आशा अपेक्षाबारे म राम्रै जानकार छु । मेरै पहलमा नै पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त भएको कुरा पनि म स्मरण गराउन चाहन्छु’, उनले बोल्ने क्रममा भने, ‘यस क्षेत्रको अधिक जनसंख्यालाई सर्वसुलभ र गुणस्तरीय उपलब्ध गराउन ३०० शैय्याको अस्पताल पूर्वाधार निर्माण आगामी आर्थिक वर्ष सुरु गरिने विश्वास पनि म तपाईंहरुलाई व्यक्त गर्न चाहन्छुु ।’

उनले यस क्षेत्रका जनतालाई स्वास्थ्य र शिक्षा प्रदान गर्नेतर्फ सरकारले विशेष चासो राखिरहेको प्रचण्डले बताए । उनले आजै पनि दीक्षान्त समारोहमा आउनुअघि एमबीबीएस कक्षा सञ्चालन गर्ने दुईवटा भवनको उद्घाटन गर्ने अवसर पाएको उल्लेख गर्दै उनले तत्कालै आवश्यक स्वीकृतिसहित मेडिकल कलेजको सुरुवातका लागि पहल गरिने बताए ।

‘अब यहाँबाट गएपछि त्यसको निम्ति आवश्यक स्वीकृतिसहित कलेज सञ्चालनको व्यवस्था गरिने कुरा पनि जानकारी गराउन चाहन्छु’, उनले भने । त्यस्तै, उनले रणनीतिक विराटनगर चक्रपथको निर्माण कार्यलाई आगामी आर्थिक वर्षदेखि योजनावद्ध तवरले अगाडि बढाउने विश्वास पनि व्यक्त गरे ।

यसैबीच कोशी प्रदेशका सांसद जीवन आचार्यले अस्पताल निर्माण र रिङरोडमा आफ्नो निरन्तर प्रयासले सार्थकता पाउन आँटेको भन्दै खुशी व्यक्त गरे ।

आचार्य भन्छन, ‘मेडिकल कलेजका लागि आफ्नै ३०० शैय्याको अस्पताल अनिवार्य छ त्यसैले हामीले निरन्तर प्रधानमन्त्री ज्यूलाई भनिरहेका थियौं ।’

संसद आचार्यको पहलमा सो क्षेत्रमा ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको अभियान नै चलेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *