उपनिर्वाचन : धर्मगुरू आत्मानन्द लिङदेनको सहयोग खोज्दै शेखरपछि झलनाथ पनि पुगे

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर राजनीतिक दलका शीर्ष नेताहरूले किरात धर्मगुरु आत्मानन्द लिङदेनसँग दर्शनभेट बढाएका छन्। इलाम २ मा हुने उपनिर्वाचनमा किराँत धर्मको राम्रो प्रभाव पर्ने भएकाले नेताहरूले भेट बढाएका छन्।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि शुक्रवार लिङदेनलाई भेट्न पुगे। इलामको माङसेबुङ ५ स्थित गुरु निजी आश्रममा खनालले धर्मगुरुसँग वार्ता गरेका हुन्।

खनालसँग कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगु र कोशी प्रदेशका पूर्वमन्त्री खिनु लङ्वा पनि सहभागी थिए। गठबन्धनमा आबद्ध नेकपा एसले इलाम २ मा आफ्नै उम्मेदवार उठाएको छ।

सत्ता गठबन्धनमा आबद्ध नेकपा एसले इलाम जीतबहादुर राईलाई उम्मेदवार बनाएको छ। खनालले भेटेर धर्मगुरुसँग आफ्नो उम्मेदवारको पक्षमा सहयोग गर्न आग्रह गरेको बताइन्छ।

धर्मगुरुकहाँ केही दिन अघि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पनि पुगेका थिए। उनले आफ्नो पार्टीले अगाडि सारेका उम्मेदवार डम्बर खड्काको पक्षमा खुल्न आग्रह गरेर फर्किएका थिए। त्यसो त अघिल्लो निर्वाचनमा पनि खड्कालाई नै धर्मगुरुले समर्थन गरेको चर्चा छ।

यद्यपि, एमालेका सुवास नेम्वाङसँग १४४ मतले पराजित भएका थिए। त्यहाँ अहिले एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ भने रास्वपाले मिलन लिम्बु र पहिचानवादीहरूको तर्फबाट डकेन्द्रसिंह थेगीम चुनावी प्रतिस्पर्धामा छन्। थेगीमलाई धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले पनि समर्थन गरेका छन्।

दलहरूले इलाम २ को निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएर प्रस्तुत हुँदा करिब ५ हजार मत प्रभाव पार्न सक्ने धर्मगुरुसँग भेट बढाएका छन्।

इलामको चुनावी सभालाई एमालेका अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गरिसकेका छन् भने रास्वपाका सभापति रवि लामिछाने शुक्रवारदेखि घरदैलोमा खटिएका छन्। यस्तै, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वाप्रकाश शर्माले पनि आज इलामको चुनावी सभालाई सम्बोधन गर्दैछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *