पुरुष छात्रावास खाली गर्ने क्याम्पस प्रशासनको सूचनाविरुद्ध लमजुङ क्याम्पसका विद्यार्थीहरु आन्दोलित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । लमजुङ क्याम्पसले पुरुष छात्रावास खाली गर्ने सूचना जारी गरेको विरोधमा उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

गत माघ २७ गते नेविसंघ र अनेरास्वव्युका विद्यार्थीहरु बिच झडप भएको थियो । झडप भएको करिब एक महिना पछि क्याम्पस प्रशासनले एक सूचना जारी गर्दै पुरुष छात्रावास खाली गर्न भनेको छ ।

त्यसैको बिरोध स्वरुप अनेरास्वव्युका विद्यार्थीहरुले सशक्त आन्दोलन गरेका हुन । उनीहरुले क्याम्पस प्रशासनले उल्टै विद्यार्थीको हक र अधिकार हनन गरेको आरोप लगाएका छन् ।

क्याम्पसको पुरुष छात्रावासमा नेविसंघका विद्यार्थीले अनेरास्ववियुका विद्यार्थीमाथि गरेको आक्रमणमा परि करिब १० जना बिद्यार्थी घाइते भएका थिए ।

घाइते विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र क्याम्पस प्रशासनमा उजुरी गरेका थिए । त्यसपछि क्याम्पस प्रशासनले पुरुष बस्दै आएको छात्रावास खाली गर्न भनेको छ ।

विद्यार्थीहरुले पुरुष छात्रावासमा बस्ने १०÷१२ जना जनाको खराब आचरणले गर्दा छात्रावास नै खाली गर्ने अपरिपक्क निर्णयले क्याम्पस प्रशासन आफ्नो जिम्मेवारीबाट उम्किन खोजेकाले उक्त निर्णय खारेज गरिनु पर्ने माग गरेका छन् ।

त्यस्तै उनीहरुले छानबिन समितिले १५ दिन भित्र प्रतिवेदन तयार पारि कार्वाही गर्ने भनिएता पनि अहिले सम्म यो विषयमा हेलचक्र्याइ गरेकाले यथाशाक्य छिटो प्रतिवेदन तयार पारी दोषीहरुलाई कारवाही गरेर शैक्षिक गतिविधी सुचारु गर्नु माग गरेका छन् ।

‘विद्यार्थीहरुलाई बौद्धिक समृद्धि ,सामाजिक समावेशी र शैक्षिक कौशलता अभिवृद्धिको निमित्त छात्रावास जस्तो सेवासुविधा प्रदान गरेको हुन्छ । जुन सेवासुविधामा सम्पूर्ण विद्यार्थीको समान हक र अधिकार रहेको हुन्छ । तर क्याम्पसको पुरुष छात्रावास खाली गर्ने सुचना प्रति हामी सम्पूर्ण विद्यार्थीको गम्भीर ध्यानाकर्षण भएको छ’, विद्यार्थी विवश विकले भने, ‘क्याम्पसको पुरुष छात्रावास खाली गराउने अपरिपक्व निर्णयले क्याम्पस प्रशासन आफ्नो कर्तव्य र जिम्मेवारीबाट पन्छिन खोजी उल्टै पिडित निर्दोष विद्यार्थीहरुलाई अप्ठ्यारोमा पारि आम विद्यार्थीको हक र अधिकार हनन गरेको छ ।

उक्त घटनामा दोषी उपर छानबिन गरि दिर्घकालिन समाधानको रुपमा कडाभन्दा कडा कार्वाही गरि सम्पूर्ण विद्यार्थीको अधिकारको सुनिश्चितताको रुपमा पुरुष छात्रावास यथावत राखि निरन्तरता दिनु विद्यार्थीहरुले माग गरेका छन् ।

मागको सुनुवाइको लागि बृहत सांकेतिक विरोध प्रर्दशन गरेका उनीहरुले आफ्ना मागलाई पूरा गरि अधिकार सुनिश्चितता नगरेसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *