प्रचण्डको ब्रिफिङ- कांग्रेसको ‘दास’ मनस्थितिले कम्फर्टेबल भएन, एमालेसँगको सहकार्य कमजोर छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन कम्फर्टेबल नभएपछि समीकरण बदलेको ब्रिफिङ गरेका छन्। आज बसेको संसदीय दलको बैठकमा एमालेसँग गठबन्धन नभई सहकार्य थालेको बताए।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सांसदले भने- केन्द्रीकरण, ध्रुवीकरण र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै विकासको नेतृत्व गर्न कांग्रेससँग कम्फर्टेबल भएन। उहाँहरू पछाडि फर्केजस्तो देखियो। बजेट निर्माण, मन्त्रालय सञ्चालनदेखि अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अलिक बढी दास मनस्थिति बढी भएकोजस्तो देखियो। त्यसले गर्दा राष्ट्रियतामा अझै बढी कमजोर हुने देखियो।

प्रधानमन्त्री पद असुरक्षित नभएपछि सोचेजस्तो परिणाम दिन नसकेपछि लामो गृहकार्यपछि एमालेसँग समीकरण बनाएको बताए।

उनले भने- प्रधानमन्त्री पद त असुरक्षित थिएन। कसैले च्यालेन्ज गरेको पनि होइन। एक वर्ष त रहिहाल्थ्यो। प्रधानमन्त्री पद त रहिराख्ने तर सोचेजस्तो परिणाम दिन नसक्ने, अझै राष्ट्रियता र अर्थतन्त्र कमजोर हुने देखिएपछि एमालेसहित अन्य दलसँग सहकार्यको ढोका खोल्यौँ। दुवै दलबीच लामो गृहकार्यपछि सहकार्य थालेका छौँ। यो समीकरण बलियो छ। पर्याप्त छलफलपछि मात्रै गरेको हौँ। आवेगात्मक हुँदै होइन। आवेगात्मक त सरकार संकट परेको बेलामा मात्रै हुने हो तर, अहिले सरकार अप्ठ्यारोमा थिएन।

राष्ट्र र जनताको केन्द्रमा राखेर अहिले जनतामा देखिएको निराशा अन्त्य र अर्थतन्त्र सुधार, सेवा प्रवाहमा अहिले समीकरण थालेका दलसँग लय मिल्ने प्रधानमन्त्रीको विश्वास थियो।

उनले एमाले अध्यक्ष केपी ओलीसँग अबको बाँकी कार्यकाल आधा आधा गर्ने ‘भद्र सहमति’ भएको पनि सुनाए।

Comments

One response to “प्रचण्डको ब्रिफिङ- कांग्रेसको ‘दास’ मनस्थितिले कम्फर्टेबल भएन, एमालेसँगको सहकार्य कमजोर छैन”

  1. ksp pyl Avatar
    ksp pyl

    तिम्रो त ठेगान छैन के गर्छौ भन्ने । विदेशीको आदेशमा ओलिलाई त्यसरी हटाएका थियौ । तर तिनै ओलिले पोहोर प्रधानमन्त्री बनाए । दुई महिनामै धोका दियौ । धोखा खाएको ओलिले धोखा बिर्सेर अहिले फेरि प्रधानमन्त्री बनाए । अब पनि धोखा दियौ भने जनताले त हिसाब गर्छन नै तर तिमीलाई चाहिँ महापाप लाग्छ प्रचण्ड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *