लोकतन्त्रको आवरणमा केही राजनीतिक दलको सिन्डीकेटतन्त्र कायम भएको छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा अहिले केही राजनीतिक दलहरुको सिन्डीकेटतन्त्र कायम भएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित राप्रपा नेपालको मध्यमाञ्चल स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजनीतिक परिवर्तन भएको १७ वर्ष पुगिसक्दा पनि जनता मालिक हुनुको सट्टा लोकतन्त्रको आवरणमा अहिले केही राजनीतिक दलहरुको सिन्डीकेटतन्त्र कायम भएको र प्रजातन्त्र बलियो हुनुको सट्टा सर्वसत्तावाद हावी भएको टिप्पणी गरेका हुन् ।

उनले अहिले संघीय गणतन्त्र भ्रष्टतन्त्र र तस्करतन्त्रमा परिणत भएको भन्दै विदेशी शक्तिहरुको चलखेल र प्रभाव तीव्र रुपले बढ्नुकासाथै नेपाल अन्तरराष्ट्रिय महाशक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनेको उल्लेख गरे ।

सरकारको अर्कमण्यता र गलत नीतिको कारणले देशको अर्थतन्त्र धरासायी बनेको बताए । अध्यक्ष थापाले संस्कृतिमन्त्री सुदन किराँतीको क्रिष्चियन नमान्ने संविधानविरोधी हुन् भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ९४ प्रतिशत सनातन धर्ममा आस्था राख्नेहरुको विरुद्धको यो षड्यन्त्र र अपमान भएको उल्लेख गरे ।

अध्यक्ष थापाले धर्म परिवर्तनको डढेलोले देशलाई तहसनहस पारिरहेको भन्दै सनातन धर्म, संस्कृति र परम्परामाथि योजनाबद्ध र संगठित रुपले आक्रमण भइरहेको टिप्पणी गरे । उनले देशमा कायम रहेको संघीय धर्मनिरपेक्षता र गणतन्त्र असफल साबित भइसकेको दाबी समेत गरे ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *