राप्रपाले सालिक राख्ने तयारी गरेको महेन्द्रनगरको संविधान चोक निषेधित क्षेत्र घोषित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगरको संविधान चोक आसपासका क्षेत्रमा आजदेखि ७ दिनसम्मका लागि निषेध गरेको छ ।

भीमदत्त नगरपालिका वडा नं ४  महेन्द्रनगरमा रहेको संविधान चोक आसपासको क्षेत्रमा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वर्गीय पूर्व राजा महेन्द्र  शाहकाे सालिक  राख्ने तयारी गरेपछि संविधान चोक आसपासका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेकाे हाे ।

संविधान चोक र सो चोकवाट पूर्व दशरथ चन्दको सालिक सम्मको मुख्य सडक खण्ड क्षेत्र र संविधान चोकबाट पश्चिम मदन भण्डारीको सालिक सम्मको मुख्य सडक खण्ड क्षेत्र ५ जना भन्दा बढी भेला हुन कार्यक्रम गर्न निषेध गरिएको छ ।

जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम आजदेखि ७ दिनसम्मका लागि ५ जना भन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।

सालिक राख्न दिने नदिने विषयमा राजनैतिक दलहरुबीच मत भिन्नता रहेकाले जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेकाे जनाएकाे छ ।

महेन्द्रनगरमा आज  राप्रपाले स्वर्गीय राजा महेन्द्रको सालिक स्थापना गर्ने तयारी गरेको छ । यहाँका आठ राजनैतिक दलले भने संविधान चोकमा महेन्द्रको सालिक राख्न नदिने बताइरहेका छन् ।

अहिले महेन्द्रनगरमा राप्रपाका केन्द्रीय अध्यक्ष सहितको नेताहरूको उपस्थितिमा आम सभा चलिरहेको छ ।

आम सभा पछि राप्रपाले सालिक राख्ने तयारी गरेको थियो । तर, प्रशासनको निषेधाज्ञा लगाएपछि आज सालिक राख्ने कार्यक्रम स्थगित हुन सक्ने राप्रपा सुदूरपश्चिम प्रवक्ता छत्र शाहीले जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *