खगेन्द्र नवजीवन केन्द्रमा भएको अमानवीय घटनाबारे तत्काल छानविन समिति बनाउन ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय महिला आयोगले काठमाडौंको नारायणटारस्थित नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा भएको अमानवीय र जघन्य घटनाप्रति तत्काल छानविन समिति बनाउन ध्यानाकर्षण गराएको छ ।

केन्द्रमा रहेका विभिन्न उमेर समूहका अपाङ्गता, बहुअपाङ्गता भएका महिलाहरुमाथि भएको अमानवीय घटनाप्रति आयोगले आपत्ति जनाउँदै तत्काल छानविन समिति बनाइ दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको हो ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै दोषीलाई हदैसम्मको कार्वाही र पीडित पक्षलाई औषधी उपचार, मनोसामाजिक परामर्श र क्षतिपूर्तिसहित न्यायको लागि आयोगले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरुमाथि भएको दुर्व्यवहारको बारेमा आयोगमा उजुरी परेको थियो । उजुरी परेपछि गत मंगलबार आयोगका पदाधिकारीको नेतृत्वमा आयोगको टोलीले अनुगमनमा गएको थियो ।

अनुगमन गर्दा सो केन्द्रमा रहेका विभिन्न उमेर समूहका अपाङ्गता, बहुअपाङ्गता भएका महिलाहरुको अभिव्यक्ति र स्थलगत अवलोकनबाट उनीहरुमाथि शारीरिक, मानसिक तथा यौनजन्य हिंसा समेत भएको आयोगले विज्ञप्तिमार्फत बताएको छ ।

‘यस्ता अत्यन्त अमानवीय र जघन्य घटनाप्रति आपत्ति प्रकट गर्दै तत्काल छानबिन समिति बनाई दोषीलाई कानूनी दायरामा ल्याई हदैसम्मको कार्वाही र पीडित पक्षलाई औषधी उपचार, मनोसामाजिक परामर्श र क्षतिपूर्ति सहित न्यायको लागि आयोग सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’विज्ञप्तिमा भनिएको छ ।

खगेन्द्र नवजीवन केन्द्रमा भएको अनियमितताको विषयमा पटकपटक नगरपालिका, प्रहरी वृत, जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी गर्दा पनि नलिएको पीडितहरुले गुनासो गरेका छन् ।

केन्द्रका कर्मचारीहरुले त्यहाँ रहेका अपांगता भएका महिलाहरुमाथि दुर्व्यवहार गर्दै आएको बताइएपनि घटना बाहिर नल्याउन दबाब दिँदै आइरहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *