रुपन्देही । शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा गम्भीर घाइते भएका ३८ जनालाई बाँकेको नेपालगन्जमा ल्याइएको छ ।
उनीहरूलाई हेलिकप्टर र एम्बुलेन्सबाट यहाँ ल्याइएको हो । शनिवार साँझसम्म ३२ र १ बजे ६ जना घाइतेलाई नेपालगन्ज ल्याइएसँगै यहाँ उपचाररत घाइतेको संख्या ३८ पुगेको हो ।
मध्यराती १ बजे भेरी नगरपालिकाका २ जना र सानीभेरी रुकुमका ४ जना घाइतेलाई नेपालगन्ज ल्याइपुर्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।
भेरी अस्पतालमा उपचाररतमध्ये ५ जनाको मध्यराती १२ बजेसम्म शल्यक्रिया गरिएको र उपचाररत सबैको अवस्था सुधारोन्मुख रहेको पनि प्रजिअ पोखरेलले बताए । उनका अनुसार बाँके ल्याइएका मध्य १ जनाको भने मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । उनलाई पनि भेरीमा ल्याउने तयारी गरिएको पोखरेलले बताए ।
१ जना घाइतेको भने शुक्रवार नेपालगन्ज ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । उनको शवलाई आज बिहान जाजरकोट पठाइएको प्रजिअ पोखरेलले बताए । यहाँ थप घाइतेको उपचारका लागि पर्याप्त बेडहरू तयारी अवस्थामा राखिएको छ । भेरी अस्पताल, कोहलपुर मेडिकल कलेजमा १ सय बेड उपचारका लागि तयारी अवस्था राखिएको छ ।

Leave a Reply