काठमाडौं । ‘सेफ्टी अडिट’का नाममा नेपालमा कोरियन एयरको सिण्डिकेट कायम राख्ने नियत देखिएपछि नेपाल नागरिक उड्डन प्राधिकरणले कोरियाको समकक्षी नियामक निकायलाई चेतावनीयुक्त पत्र पठाएको छ । दुई पक्षीय हवाई सम्झौताको प्रावधान नेपालले मात्र मान्न जरुरी नभएको भन्दै क्यानले नोभेम्बरदेखि कोरियन एयरको उडान नै रोक्ने चेतावनी दिएको छ ।
कोेरियन नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलायन्सको उडान कोरियामा गर्नका लागि सेफ्टी अडिट गर्नुपर्ने भन्दै वर्षौंदेखि झुलाएको छ । सबै सरकार र मन्त्री तथा यसअघिका महानिर्देशकहरु निरीह हुँदै आएकामा यसपटक प्राधिकरण नेतृत्व एक्सनमा उत्रिएको हो ।
क्यानका महानिर्देशक प्रदीप अधिकारीले नेपाल एयरलायन्स जापान, साउदीलगायतका देशमा उडान भरिरहेको भन्दै बिनाशर्त कोरिया उडानको अनुमति नदिए आगामी अक्टोबर २९ देखि कोरियन एयरलाई नेपाल उडानमा रोक्ने चेतावनी दिएका छन् ।
क्यानका महानिर्देशकको चेतावनीपछि कोरियन नियामक निकाय केही लचिलो भएर पत्राचारमा आएको स्रोतले जनाएको छ । कोरियन एयरले नेपालमा एकलौटी उडान गरिरहेको छ र यात्रुबाट महंगो भाडा उठाइरहेको छ । नेपाल वायु सेवा निगमले कोरिया उडान भरेपछि उसको सिण्डिकेट तोडिने र यात्रुले सस्तोमा उड्न पाउनेछन् ।
क्यानलाई कोरियन समकक्षी नियामक निकायले केही समयअघि पत्र पठाउँदै नेपाल इयुको सेफ्टी अडिटमा रहेको भन्दै अनेक शर्त राखेको थियो । अन्तर्राष्ट्रिय हवाई उडानसम्बन्धी कतिपय संवेदनशील विषयसमेत कोरियन प्राधिकरणसम्म पुगेकोमा क्यानले गम्भीरतापूर्वक लिएको छ ।
नेपाल एयरलायन्सको सेफ्टी अडिटका लागि यसअघि सकारात्मक रहेपनि पछिल्लोपटक अनेक शर्त थप्दै क्यानको समेत सेफ्टी अडिट गर्न पाउनुपर्ने शर्त राखेपछि महानिर्देशक अधिकारीले आपत्ति जनाएका हुन् । उनले क्यान भनेको राज्य भएको भन्दै यसको अडिट आइकाओबाहेक अरुले गर्न नपाउने स्मरण गराएका थिए ।
क्यान स्रोतले भन्यो- सेफ्टी अडिट भन्दै वर्षौंदेखि झुलायो । पर्यटनमन्त्रीहरू पनि निरीह भए । कहिले अडिट गर्न आउनेको खर्च व्यहोर्नुपर्ने भन्छ, कहिले दोभाषे चाहियो भन्छ, हुँदा हुँदा नेपालको सार्वभौमसत्ताविपरीतका शर्त राखेपछि बिना सेफ्टी अडिट जसरी कोरियन एयर आइरहेको छ, त्यसैगरी नेपाल एयरलायन्सलाई उडान गर्न नदिने हो भने कोरियन एयरको उडान रोक्ने चेतावनी दिएपछि उनीहरु लचिलो भएका छन् ।
यसबीचमा कोरियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत पुष्पराज भट्टराईले नेपाल एयरलायन्सको कोरिया उडानका लागि सेफ्टी अडिट गर्न कोरियन समकक्षीलाई पत्राचार गर्न आग्रह गर्दै क्यानलाई पत्र लेखेका थिए । त्यसक्रममै महानिर्देशक अधिकारीले असन्तुष्टि व्यक्त गरेका थिए ।
स्रोतका अनुसार प्राधिकरणले कोरियन एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट (जीएसए) युनिभर्सल ट्राभल्सलाई यसै साता बोलाएर अब टिकट बिक्री नगर्न भनिसकेको छ ।
कोरियन एयरले अहिले नेपालमा साताको ५ वटा उडान गरिरहेको छ तर हवाई सम्झौतामा २ देशले नै उडान गर्न पाउने उल्लेख छ । सो सम्झौता बमोजिम दुवै देशको बराबरी अधिकार रहेको पनि कोरियन पक्षले लामो समयदेखि अडिटको विषय उठाउँदै नेपाल एयरलायन्सलाई उडान गर्न दिएको छैन ।
धेरै लामो समयदेखि नेपाल एयरलाइन्सले कोरिया उडान गर्न खोजिरहेको छ तर कोरियाले नेपाल एयरलाइन्सको अडिट गर्नु पर्ने भन्दै रोकिरहेको छ । यो भनेको कोरियन एयरको एकल बजारको स्वार्थबमोजिम भइरहेको क्यानका अधिकारीहरु बताउँछन् ।
प्राधिकरणले नागरिक उड्डयन संगठनहरूको विश्वव्यापी हुने कार्यक्रमहरूमा यो विषय उठाउँदै आएको थियो । कोरियाले अडिटपछि अनुमति दिने भन्दै आलटाल गरिरहेको छ । यही अक्टोबरमा बंगलादेशमा हुने एसिया प्रशान्त क्षेत्रका हवाई उड्डयन महानिर्देशकहरूको बैठकमा समेत प्राधिकरणले यो विषय उठान गर्ने भएको छ ।

Leave a Reply