दुई दीपकको घुमघाम मोह : गल्फ म्यानेजर बनेर विष्ट र उशु म्यानेजर बनेर श्रेष्ठ एसियाडमा

काठमाडौं । नेपाली खेलकुदमा दीपक विष्ट र दीपक श्रेष्ठको आफ्नै पहिचान छ । दक्षिण एसियाली खेलकुदमा ४ पटक स्वर्ण जितेका तेक्वान्दोका विष्ट र २ पटक स्वर्ण जितेका कराँतेका श्रेष्ठ सरकारी प्रशिक्षकसमेत हुन् ।

त्यति मात्र नभएर श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष पनि हुन् भने विष्ट पूर्वअध्यक्ष हुन् । उनीहरुले खेल्न बाँकी प्रतियोगिता कुनै छैन र जान बाँकी ठूला देश पनि कुनै छैन ।

तर हरेकपटक ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनुलाई उनीहरु आफ्नो नसिबमै लेखेर आएजस्तो सम्झिन्छन् । नत्र हाल चीनको होङजाउमा भइरहेको १९ औँ दक्षिण एसियाली खेलकुद-एसियाडमा उनीहरु नगइ नहुने केही थिएन ।

विष्ट र श्रेष्ठ न आ–आफ्नो खेलका टीम प्रशिक्षक हुन् न त म्यानेजर नै । नत नेपाल ओलम्पिक कमिटी (एनओसी) वा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनीहरुलाई विशेष भूमिका दिएर उनीहरुलाई त्यहाँ लगेको हो ।

सुन्दा नै हाँस्यास्पद लाग्न सक्छ, श्रेष्ठ र विष्ट दुवै आफूसँग असम्बन्धित खेलबाट एसियाड पुगेका हुन् । श्रेष्ठलाई उसु टोलीको टीम म्यानेजर बनाइएको छ भने विष्टलाई गल्फको टीम म्यानेजर बनाइएको छ ।

टीमको प्रशिक्षक र म्यानेजर तोक्ने जिम्मेवारी सम्बन्धित खेल संघलाई दिइएको थियो । त्यहीअनुसार संघहरुले नेपाल ओलम्पिक कमिटीमा खेलाडी, प्रशिक्षक र टिम म्यानेजरको विवरण बुझाएका थिए ।

आफ्नो खेलमा दीपक श्रेष्ठलाई टीम म्यानेजर बनाइएकोप्रति नेपाल उसु संघले आश्चर्य व्यक्त गर्दै विरोध पनि जनाएको छ । आफूले नारायण गिरीको नाम टिम म्यानेजरका रुपमा पठाए पनि उनको नाम काटेर श्रेष्ठको नाम समावेश गरिएको उसु संघले विज्ञप्तीमार्फत जनाएको हो ।

‘समाजसेवी नेपाल उसु महासंघका उपाध्यक्ष तथा एसियाडमा उसु खेलका उनै टीम म्यानेजर (नारायण गिरी)को अन्तिम समयमा आएर नाम काटी उसु खेलसँग कुनै सरोकार नै नभएको व्यक्तीलाई उसु टीम म्यानेजर बनाएको कुरा स्वयम् राष्ट्रिय खेलकुद परिषद् टंकलाल घिसिङले मौखिक जानकारी गराएकोप्रति नेपाल उसु महासंघको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

उसु संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको हैसियतमा श्रेष्ठको नैतिकतामाथि पनि प्रश्न उठाएको छ । आफ्ना मान्छेलाई विदेश भ्रमण गराउन विगतमा पनि टीम म्यानेजरको भूमिका दिएर गैह्र खेलकर्मी र सम्बन्धित खेल बाहेकका व्यक्तिलाई लैजाने गरेको देखिएको थियो ।

यसपटक राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरु कुमार बस्नेत, फणिन्द्र पौडेल, सरस्वती केसीलाई विभिन्न खेलको टिम म्यानेजर बनाएर होङजाउ एसियाडमा लगिएको छ । ‘यो त जाने र लैजाने दुवैलाई लाज लाग्नु पर्ने हो’, दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका एक पूर्व खेलाडी भन्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *