काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले जनताको पक्षमा काम गर्दोरहेछ भन्ने स्थापित भएको बताएका छन् ।
गोंगबु बसपार्कमा ‘जनतासँग माओवादी विशेष अभियान’ को शनिबार उद्घाटन गर्दै पुनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनका पक्षमा गरेको कामले जनतामा उत्साह बढेको बताए ।
देशमा पहिलोपटक सरकारले पनि जनताको पक्षमा काम गर्दो रहेछ भन्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो । सुशासनका लागि भ्रष्टाचारविरोधी अभियान प्रतिस्पर्धी दल वा आफूसँग असहमत पक्षतर्फ लक्षित रहेको भन्ने भ्रम फैलाउन खोजिएको भन्दै समग्र मुलुकको शद्धीकरणका लागि थालिएको पुनले उल्लेख गरे ।
पुनले सरकार वा राज्य संयन्त्र र सामाजिक संस्थाको नेतृत्वमा पुगेकाहरुमा वैध/अवैध सबै तरिकाले धन आर्जन गर्ने र मोजमस्तीमा खर्च गर्ने प्रवृत्ति हाबी भएको बताए ।
पुनले भने– आफू पदमा बस्दा त्यसबाट बढीभन्दा बढी शोषण र दोहन गर्ने, वैध/अवैध ढंगले कसरी पैसा काउने र मोजमस्ती गर्ने भन्ने प्रतिस्पर्धातिर समाज गइरहेको छ । उत्पादन, श्रम वा उद्यम/व्यवसाय गरेर कमाउने नभई सजिलै कमाउने (इजी) मनीतिर समाज आकर्षित भइरहेको छ । बिचौलिया धन्दा र प्रवत्ति समाजमा हुर्कंदै गएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफू र मेरो आफ्नो परिवारका कोही पनि सदस्यले भ्रष्टाचारजन्य काम गरेको भए कठघरामा उभिन तयार छु भन्ने सामान्य विषय नभएको व्याख्या गरे ।
पुनले भने–‘बहालवाला प्रधानमन्त्रीले म र मेरो परिवारका कसैले भ्रष्टाचारजन्य अपराध गरेको देखियो भने पनि कठघरामा उभ्याउनु भनेर अनुसन्धान गर्ने निकायलाई सार्वजनिकरुपमा अपिल गरेर त्यस प्रकारको उच्च नैतिक उचाई प्रदर्शन गर्नु सामान्य कुरा हुन सक्दैन ।
फरक प्रसंगमा पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता र सामाजिक न्याय माओवादीको एजेण्डा भए पनि पछि सबै दल सोही एजेण्डामा आएको स्मरण गरे । पछिल्लो समय केही दल र धार्मिक समुदायले मिलेर बसेका नेपालीहरुबीच सामाजिक सदभाव खल्बल्याउने प्रयास गरेको र त्यो आफूहरुलाई स्वीकार्य नहुने उनले बताए ।

Leave a Reply