कैलाली । बाढी-बहिरोबाट विस्थापित भएका कैलालीका चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका नागरिकहरू व्यवस्थापनको माग लिएर दैनिक मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय धाउन बाध्य भएका छन् ।
गोदावरी र चुरेका १६९ घर परिवारले मुख्यमन्त्री कमल बहादुर शाहलाई व्यवस्थापन गर्न माग गरिरहेका छन् । २०७७ सालमा आएको पहिरोबाट विस्थापित भएका स्थानीय चुरे गाउँपालिका वडा नम्बर ४ मा रहेको पनेरुगडामा बसिरहेका थिए ।
उनीहरूलाई जेठ ६ गते त्यहाँबाट हटाइएको थियो । त्यसपछि आफन्तको घरमा बसिरहेकाहरू अहिले दीर्घकालीन व्यवस्थापनको माग गरिरहेका हुन् ।
‘हामीलाई खाने र बस्ने समस्या भएको छ । दैनिक रूपमा अरूको घरमा बसिरहेका छौँ’ स्थानीय टिकाराम कार्कीले भने, ‘मुख्यमन्त्री ज्यूलाई हामी पटक पटक समस्या समाधान गर्न आग्रह गर्दै आइरहेका छौँ । ’
चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका जनप्रतिनिधिसँग समन्वय गरेर व्यवस्थापन गर्ने भन्दै आफूहरूलाई हटाइएको बताएका उनीहरूले अहिले आफ्नो समस्या समाधानमा कसैले पनि चासो नदिएको आरोप लगाएका छन् ।

‘पहिलो तपाइहरूलाई अर्को ठाउँमा व्यवस्था गर्छौ भन्नु भएको थियो अहिले कसैले पनि चासो दिनु भएको छैन’ कार्कीले भने ‘हामी अहिले कहाँ बस्ने के खाने भन्ने चिन्तामा छौँ ।’

स्थानीय युवा नरबहादुर सार्कीले पटक पटक मुख्यमन्त्री शाहलाई भेटेर समस्या समाधान गर्न आग्रह गरे पनि अहिले सम्म पनि समस्या समाधान नसकेको बताए ।

‘हामी धेरै पटक मुख्यमन्त्रीलाई भेटेर समस्या समाधान गर्न आग्रह गर्दा पनि समस्या उस्तै छ’ उनले भने ‘अब हामी मुख्यमन्त्री कार्यालय अघि नै धर्नामा बस्ने तयारीमा छौँ ।’ निर्वाचनमा भोट माग्न आएका नेताहरूले पनि चासो नदिएको उनले गुनासो गरे ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य जानकी देवी कुँवरले पनि मुख्यमन्त्रीलाई भेटेर समस्या समाधान गर्न आग्रह गरेको बताइन् । विस्थापित भएकाहरूले दिएको तथ्याङ्क अनुसार अहिले गोदावरीको १२, ४ र ९ नम्बर वडाबाट ३० परिवार विस्थापित भएका छन् ।
त्यस्तै चुरे ४,५ र ६ नम्बर वडाबाट १३८ परिवार विस्थापित भएका छन् ।

Leave a Reply