भारतबाट आएर मिठाइ बेच्नेहरुले कसरी लिए नेपाली नागरिकता ?

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा मिठाई पसल सञ्चालन गरेर बसेका १० भारतीय नागरिक गलत विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिमपट्टी ग्राम भीमपुरा थाना बेल्थरा रोडका रहेका छन् । उनीहरु काठमाडौं उपत्यकाका शंखमुल, गंगबु, बसन्धुरा, लगनखेल, कलङ्कीलगायत स्थानमा मिठाई पसल सन्चालन गरेर बसिरहेका थिए ।

उनीहरुले सिराहा, रुपन्देही, बारा, पर्सालगायत विभिन्न जिल्लाबाट विभिन्न मितिमा नेपाली नागरिकता लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेकामध्ये ६ जनाले ०६२÷६३ को जनआन्दोलनपछि तराईका जिल्लामा घुम्ति शिविर सन्चालन गरेर वितरण गरिएको बेला लिएको पाइएको छ ।

प्रहरीका अनुसार एकै परिवारका तीनजना पक्राउ परेका छन् । अन्य पनि नातेदार भएको प्रहरीले जनाएको छ । सिराहाको मिर्चैया स्थायी ठेगाना देखाएर २०६३ चैत १७ गते जन्मका आधारमा भरतप्रसाद गुप्ताले नागरिकता लिएको पाइएको छ ।

उनीसँग विवाह गरेपछि ज्ञानमती देवी गुप्ताले २०६८ असार ९ गते वैवाहिक अंगिकृत नागरिकता लिएकी थिइन् । यस्तै उनिहरुका छोरा राहुलले २०७० साल वैशाख २९ गते बंसजका आधारमा नेपाली नागरिकता लिएको पाइएको छ । राहुल डाक्टर पनि हुन् । उनीहरुले शंखमुलमा मिठाई पसल सन्चालन गर्दै आएका थिए ।

पक्राउ परेकामध्ये भरत गुप्ताले २०६३ फागुन ७ गते जन्मका आधारमा बाराबाट नागरिकता लिएको, उनकी श्रीमती स्नेहलता गुप्ताले २०६९ पुस ११ गते बंसजका आधारमा नागरिकता लिएको, गोपाल गुप्ताले २०६३ फागुन १८ गते रुपन्देहीबाट नागरिकता लिएको प्रहरीको दाबी छ ।

त्यस्तै, राजेश कुमार गुप्ताले बाराबाट २०६३ फागुन २८ गते र उनकी श्रीमती मिनादेवी गुप्ताले २०६९ पुस ११ गते बंशजका आधारमा नागरिकता लिएको पाइएको छ ।

रामप्रवेश गुप्ताले २०६३ फागुन २१ गते रुपन्देहीबाट जन्मका आधारमा, रामसुन्दर गुप्ताले २०६३ चैत १५ गते जन्मका आधारमा नेपाली नागरिकता लिएको प्रहरीले जनाएको छ । उनीहरुले नेपाली नागरिकता लिएपछि पनि भारतीय नागरिकता प्रयोग गरिरहेको प्रहरीले जनाएको छ ।

 

Comments

One response to “भारतबाट आएर मिठाइ बेच्नेहरुले कसरी लिए नेपाली नागरिकता ?”

  1. Kshitiz paudel Avatar
    Kshitiz paudel

    Nakakli nagarikta Line lai Desh Nikala gara or Fasi de nalayak Sarkar

Leave a Reply

Your email address will not be published. Required fields are marked *