‘सकम्बरी विरोधी कलाचेत’ लाई मेरा ५ प्रश्न !

‘सत्य कुराको उठान गरेको’ कारण भिडियो को खुलेर समर्थन गर्न मन लागेको हो खासमा, नत्र सर्वगुण सम्पन्न थिएन सकम्बरी । उनले उठाएको कुरामा आंशिक सत्यता रहेको कारण पनि यो गीतको चर्को आलोचना गर्न मन नलागेको हो ।

महिलालाई हेर्ने पितृसत्ताको दृष्टिकोणको खोट देखाउन खोजेको कारण पनि भिडियो मलाई मन परेको थियो । धेरै पटक लगभग दर्जनौँ पटक भिडियो हेरिसकेपछी भने केही केही कुराले कटक्कै मन खाँदै ल्याएको छ।

निर्देशकको नालायकिपन ले गर्दा पात्रको चरित्रको गलत व्याख्या हुन जान्छ कहिलेकाहीँ आलोचकहरूले सबैलाई सोलोडोलो एउटै डालोमा हालेको भनेर आरोप लगाइरहँदा सोच्नुपर्ने कुरा के देखिन्छ भने – मनोरन्जन क्षेत्रमा काम गर्न आएका दुई युवतीमध्ये फुलमयाँले सजिलो बाटोको प्रयोग गरेर छ महिनामै प्रगती गरेको र तर अर्को कुनै पात्रले त्यही प्रगती छ वर्ष लगाएर गरेको अनी समाजले ति हेर्ने दृष्टिकोँण दुवैको लागि समान रहेको, प्रश्नहरू दुवैलाई समान गर्ने गरेको देखाउन सकेको भए अझै प्रभावकारी बन्थ्यो जस्तो लाग्न थालेको छ।

जे होस छाला व्यवसायीहरू नमज्जाले तर्सेका छन् । युवतीहरूको कमाइले स्वास्नीलाई गहना किन्दिने र गाडी चढ्ने हैसियत बनाएका व्यापारीहरू रन्थनिएका छन् । त्यो विषय भने रोचक र घोचक छ !

घोचक किन भने भिडियोमा देखाइएको सुनिल थापाले निर्वाह गरेको चरित्र भएका अंकल र दाइहरू ले नै उनलाई सांगितिक क्षेत्रमा भरथेग गरेर खुट्टा टेकाइदिएको सत्य पनि छुटेको छ भिडियोमा ! झण्डै त्यस्तै चरित्र भएका एकजना बाको ‘धर्म छोरा’ भनेर चिन्छन् मनोरन्जन क्षेत्रमा उनलाई !

१. मनोरन्जनात्मक रात्रीकालिन व्यवसायका स्टाफहरू एचआईभीको ‘उच्च जोखिम भएका क्षेत्रका मान्छे’ मानिन्छन् । समय-समयमा आफ्ना स्टाफको एचआइभी टेष्ट गराइन्छ । एचआइभी लागेको थाह पाए कामबाटै निकालिन्छन् । यसबारेमा पनि आँखा चिम्लिनु पर्ने हो ? नबोल्नु पर्ने हो कथा लेख्नेहरू ?

२. जड्याहा ग्राहकहरू ‘त्यो उत्यो चैँ केटी बोलाईदे..मेरो आडैमा बसाल्दे, म सँग गफ गर्ने वातावरण मिलाईदे’ भनेर साहुलाई आदेश दिन्छन् । साहुले जड्याहाको झण्डै काखैमा बस्न बाध्य बनाउछन् स्टाफलाई-यसबारे मा पनि कथाकारहरू आँखा चिम्लेर बस्नु पर्ने हो ?

३. जड्याहा ग्राहकले महिला स्टाफलाई छुने निहुँ गर्छ ! पैसा निकाल्छ ! सुरुमा हातमा दिन्छ अनी बिस्तारै चोली तिर घुसार्दिन थाल्छ- स्टाफले पनि सुरुमा रिसाएजस्तो गर्छन्, झर्केजस्तो गर्छन् अनी बानी पर्छन् ! पैसाको मुखै कालो हुन्छ – टिप्स दिने ले दिन छाड्यो भने त्यो टिप्स ले खर्च धान्न बानी परेकी युवती को दैनिकीमा अभाव सुरु भैहाल्छ ! अनी आफै जड्याहासँग ढेस्सीएर चोलिभित्र टिप्स थाप्ने अबस्था सृजना हुन्छ- आँखै अगाडी यो सबै देखेर पनि चुप लाग्नु पर्ने हो यौटा कथाकार ?

४‌‍‍‍.  ‘दाई’ या ‘साहु’ सँग ‘त्यो चैँ केटी मलाई मन परी, ल म तल गाडीमा छु, छिटो पठाइदे’ भनेर हजारौँको बिल तिर्ने ग्राहकसँग स्टाफ नपठाए भोली देखी उ रक्सी खान आउँदैन ! ‘यता यसको रेटबाट कमिसन उता उसको बिलबाट घरभाडा को जोहो’ यस्तो तर्कना गर्दै आफ्नै स्टाफलाई जड्याहाको गाडीमा ‘जा’ भनेर आदेश दिनेहरू हाम्रो आँखै अगाडी छन-अब आँखा चिम्लिनुपर्ने हो ?

५. अरुले अलिकती प्रगती गर्ने वित्तीकै -लौ म चल्न सकिन, मैले कमाउन सकिन, म पछाडी परेँ भनेर रुँदै आत्तीदै ‘जे पनि गर्न तयार’ हरूको भिड छ ! कसैले बाध्य नबनाउँदा पनि त्यही बाटो समात्न हतार गरिरहेका नवयौवनाहरू कति छन कति-नलेख्ने यसबारे कथा ? कसको लागि लुकाइदिनुपर्ने हो यो सत्य ?

अन्त्यमा, समाजको विकृत स्वरुपलाई ऐना नदेखाउने? बलात्कार पिडितलाई समेत ‘त्यसले फसाएकी हो’ भन्ने सोच पालेर गाली गर्ने र महिला प्रति थोरै पनि सकारात्मक सोच नराख्ने समाजको दृष्टिकोँण माथी सपुतले निकै ससक्त प्रहार गरेका छन् !

नबुझ्नेहरूको साहित्यिक चेत माथी सपुतले गरेको प्रतिप्रश्न गजप लाग्यो मलाई !

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *