रञ्जिता श्रेष्ठ भन्छिन्– अब रेशम चौधरी छुट्नुहुन्छ, म मन्त्री बन्छु

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीमण्डलमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सहभागी हुने निश्चित भएको छ । सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ आफैं मन्त्री बन्न लागेकी हुन् ।

गत संसदीय चुनावमा यस पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ३ सिट जितेको थियो । रेशम पत्नी रञ्जिता कैलाली १ बाट विजयी भएकी थिइन् । रेशमका बुवा लालवीर चौधरीले पनि बर्दिया २ बाट जित हासिल गरेका थिए ।

नेपाल प्रेससँग कुरा गर्दै रञ्जिताले आफ्नो पार्टीले गठवन्धनमा दुईवटा मन्त्रालयको दावी गर्ने बताइन् । यही मन्त्रालय चाहिन्छ भन्ने नभएको उनको भनाइ छ ।‘हामीले दुईवटा मागेका छौं । छलफल चलिरहेको छ । सायद एक–दुई दिनमा टुंगिन्छ होला,’ श्रेष्ठले भनिन् ।

प्रधानमन्त्री प्रचण्डले भने नागरिक उन्मुक्तिका लागि एक मन्त्री छुट्याएका छन् । गठवन्धनमा रहेका ११ वटा पार्टीलाई भाग पुर्याउनुपर्ने भएकाले उन्मुक्तिलाई एकभन्दा बढी मन्त्री दिन सम्भव देखिएको पनि छैन ।

उन्मुक्तिले यसअघि उपराष्ट्रपति पदमा प्रयास गरेको थियो । रञ्जिता आफैं सो पदकी आकांक्षी थिइन् । तर, उनको उमेर नपुगेपछि उम्मेदवारी दिनबाट वञ्चित भइन् । अब उनी मन्त्री बन्न कम्मर कसेकी छन् ।तपाईंलाई उपप्रधानमन्त्री चाहिन्छ कि मन्त्रीमात्रै बन्न पनि तयार हुनुपर्छ भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘हामीले उपप्रधानमन्त्री चाहिन्छ भनेका छैनौं ।’

यसअघि नागरिक उन्मुक्तिले सरकारमा जानका लागि पार्टीका संरक्षण रेशम चौधरीको रिहाइलाई मुख्य शर्त बनाएको थियो । अहिले पनि चौधरी रिहाइ हुने बाटो खुलिसकेको छैन । पहिलेको अडान छोडेर कसरी पार्टी सरकारमा जान तयार भयो त ?

रञ्जिताले आफ्नो पतिको रिहाइका लागि सकारात्मक कुराकानी भइरहेको बताइन् । आफू मन्त्री बन्ने र पति रिहाइ हुने सँगसँगै हुन सक्ने उनको भनाइ छ । ‘हामी अडानबाट पछि हटेका छैनौं । यसमा गृहकार्य भइरहेको छ । छुट्ने भएकाले नै हामी सरकारमा जान लागेका हौं । सायद एकैचोटिजस्तो हुन्छ होला,’ उनले भनिन् ।

Comments

One response to “रञ्जिता श्रेष्ठ भन्छिन्– अब रेशम चौधरी छुट्नुहुन्छ, म मन्त्री बन्छु”

  1. Sushil Jha Avatar
    Sushil Jha

    सही हाे, उपप्रधानमन्त्री भन्दा तल केहि पनि लिन हुँदैन। यसका लागि तपाइका श्रीमानले ठूलाे त्याग गर्नु भएकाे छ। सक्नुहुन्छ भने उपप्रधानमन्त्री तथा महिला बालबालिका मन्त्रालय लिनुस्, तपाइक श्रीमानका कार्यकर्ताले मारेकाे बालककाे फाेटाे कुर्सी अगाडी राख्नुस् र भविष्यमा त्यस्ता कुकृत्यहरू कहिल्यै नदाेहाेरिने प्रणका साथ काम गर्नुस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *