काठमाडौं । पाटन उच्च अदालतले बाइकमा हेल्मेट क्यामरा तथा मोबाइल होल्डरलगायतका उपकरण जोड्न पाउने आदेश जारी गरेको छ । गत मङ्सिर २१ गते चक्रवती ल कलेजमा अध्ययनरत छात्र डेविड चौधरी र आर्यनराज पाण्डेले दायर गरेको रिटको फैसलागर्दै अदालतले उक्त आदेश जारी गरेको हो ।
‘मोटरसाइकलमा मोबाइल होल्डर र हेल्मेट राख्न दिई सवारीसाधन निवार्ध रुपमा चलाउन दिनू र सो प्रयोग गरेवापत जरिवाना गर्ने कार्य रोक्नू भन्ने विषय समसामायिक, जायज र कानून अनुकूल नै देखिँदा ती उपकरण प्रयोगबाट हुन सक्ने सबल र निर्वल पक्षहरुको प्राविधिक अध्ययन र विश्लेषण गरी नियमन गर्नतर्फ आवश्यक कारबाही गरी उपयुक्त कानूनी मापदण्ड निर्धारण गर्नू भनी विपक्षीको नाउँमा परमादेश हुने ठहर्छ’, आदेशमा उल्लेख छ ।
फैसलाको पूर्णपाठ भने तयार भइसकेको छैन । अदालतको उक्त आदेश ट्राफिक प्रहरी कार्यलयमा दर्ता गराउन लागिएको निवेदक चौधरीले नेपालप्रेसलाई जानकारी गराए ।
बाइकलगायतका सवारीसाधनमा उक्त उपकरण जडान गर्दा दुर्घटनाको जोखिम बढ्ने भन्दै ट्राफिक प्रहरीले केही समयदेखि दुई पाङ्ग्रे सवारीसाधनमा उक्त उपकरण जडान गर्नबाट रोक लगाउँदै आएको थियो । जसका कारण विशेष गरी पठाओ, इनड्राइभरलगायतका राइडर तथा मोटो भ्लगरहरु मर्कामा पर्दै आएका थिए ।

Leave a Reply