खेलाडीकाे पंक्तिमा सबैभन्दा पछाडि रहेका सन्दीपलाई जब कप्तान राेहितले अगाडि बाेलाए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मंगलबार राेमाञ्चक जित हासिल गर्दा कीर्तिपुरस्थित क्रिकेट मैदानमा उपस्थित हजारौँ घरेलु दर्शकमा खुसीको सीमा थिएन।

विश्वकप लिग–२ कै सबैभन्दा बलियो टोली स्कटल्यान्डविरुद्ध एक सय ३८ रनमा ८ विकेट गुमाएको अवस्थामा नेपालले अविश्वसनीय कमब्याक गरेकाे थियोे। त्यसको नेतृत्व कप्तान रोहित पौडेलले गरेका थिए।

नेपाली टोली कुनै समय हारनजिक देखिए पनि दर्शकले निरन्तर हुटिङ गर्दै खेलाडीकाे हौसला बढाएका थिए।
खेलपछि स्कटिस टोली दर्शकलाई धन्यवाद दिन मैदानको वरिपरि घुमेको थियो। त्यसपछि नेपाली टोली धन्यवाद भन्न अगाडि सर्दै जाँदा सबैभन्दा पछाडि सन्दीप लामिछाने थिए।

दर्शकदीर्घा सुरु हुने विन्दुमा पुगेपछि रोहितले दायाँबायाँ हेरे, अनि पछाडि फर्किए। सन्दीपलाई सबैभन्दा पछाडि देखेपछि उनले अर्का एक खेलाडीलाई सन्दीपलाई अगाडि पठाउन भने। कप्तानले बोलाएपछि सन्दीप पनि अगाडि आए । त्यसपछि रोहित आफैले सन्दीपलाई सबैभन्दा अगाडि राखेका थिए। सन्दीपले दर्शकदीर्घातर्फ नमस्कार गर्दै धन्यवाद दिए ।

`ए, सरी, मैले अघि भन्न छुटाएछु। नेपालको यो सफलताकाे श्रेय सन्दिप लामिछानेलाई पनि जान्छ। उनको कमब्याक महत्वपूर्ण रह्यो। उनले टोलीलाई आवश्यक परेका बेला विकेट लिई दिए’, पोस्ट म्याच कन्फेरेन्समा कप्तान रोहितले भने।

विश्वकप लिग–२ अन्तर्गत मंगलबार सम्पन्न नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृंखलामा सन्दीप १३ विकेटसहित सर्वाधिक विकेट लिने बलर बनेका छन्। अघिल्ला तीनवटै खेलमा ३/३ विकेट लिएका सन्दीपले अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध ४ विकेट हात पारे।

Comments

One response to “खेलाडीकाे पंक्तिमा सबैभन्दा पछाडि रहेका सन्दीपलाई जब कप्तान राेहितले अगाडि बाेलाए”

  1. Chhabilal Pandey Avatar

    राम्रो काम गर्नेको नाम नेपालमा पछिनै ल्याउछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *