कर्णालीमा उपसभामुख छोडेको राप्रपाले सरकारमा गर्‍यो दाबी, को-को बन्लान् नयाँ मन्त्री ?

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले भोलि विश्वासको मत लिने भएका छन् । उनले भोलि बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनेछन् । शर्माले वुधबार विश्वासकाे मतकाे प्रस्ताव दर्ता गराइसकेका छन् ।

सत्ता गठबन्धनका प्रमुख घटक माओवादी केन्द्र र नेकपा एमालेबीच कर्णालीका मन्त्रालयको भागवण्डामा मुख्यमन्त्रीसहित माओवादीलाई ४ र एमालेलाई ३ मन्त्रालय दिने टुंगो लागेको थियो । पुस २७ गते प्रदेशका क्याबिनेटबारे दुई पार्टीबीच ४ बुँदे सहमति भएको थियो । माओवादी केन्द्रबाट मुख्यमन्त्री राजकुमार शर्मा र एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेलले सहमतिमा हस्ताक्षर गरेका थिए ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रसेका १४, माओवादी केन्द्रका १३, एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एक/एक जना सांसद रहेका छन् । जसमा सत्तारुढ दलबाट मन्त्रीको अपेक्षा गर्नेहरु धेरै छन् ।

केन्द्रकै निर्णयअनुसार मुख्यमन्त्री माओवादी र सभामुख एमालेले पाउने टुंगो लागेको थियो । जसअन्तर्गत एमालेकी नन्दा गुरुङ सभामुख बन्दा माओवादी केन्द्रबाट यशोदा न्यौपाने उपसभामुख बनिन् ।

काे-को बन्लान् मन्त्री ?

कर्णालीमा बिनाविभागिय मन्त्री एमालेका नेता विनोदकुमार शाह र माओवादी केन्द्रका नेता मंगल शाहीले शपथ लिइसकेका छन् । अब चार मन्त्रालयले मन्त्री टुंगिन बाँकी छ । जसमा कुन पार्टीले बाजी मार्ला भन्ने चासो विषय बनेको छ ।

एउटा मन्त्रालय राप्रपाको भागमा हुनुपर्ने राप्रपाका नेताहरुको दाबी छ । ‘एउटा मन्त्रालय राप्रपाको भागमा हुनु पर्छ’, राप्रपाकी सांसद सन्तोषी शाहीले नेपाल प्रेससँग भनिन्, ‘सत्ता सठबन्धनको सरकारमा हामी अगाडि लम्कीरहेका छौं, माओवादी केन्द्रका पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भएका बोध सबैलाई छ । त्यसमा राप्रपाको सहमति, सहकार्य, समर्थन भएको हुँदा कर्णाली प्रदेशमा राप्रपाले मन्त्री पाउनुपर्छ भन्ने हाम्रो निर्णय र माग हो ।’

प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपि शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देल बसेर कर्णालीमा राप्रपाले मन्त्री पाउने निर्णय गरेको उनको दाबी छ । तर कर्णालीमा दुईदल बसेर गरेको निर्णयलाई अस्वीकार गर्ने शाहीले बताइन् । अहिले सरकारले राप्रपालाई जानेर राम्रो मन्त्रालय दिनुपर्ने दाबी गर्छिन् । जनतासँग जनमुखी भावना बनाएर काम गर्नका लागि एउटा राम्रो मन्त्रालय छुट्याउनु पर्नेमा जोड रहेको शाहीको अडान छ ।

केन्द्रको निर्णयले राप्रपालाई उपसभामुख दिने भनिएपनि राप्रपाले नलिएकाे त्यसैले मन्त्रालय घटाए पनि राप्रपाको भागमा एउटा मन्त्रालय पाउनु पर्ने सांसद शाही दाबी गर्छिन् ।

त्यस्तै, कर्णालीकाे मन्त्रीमा माओवादीका कृष्णबहादुर जि.सी., रनसिंह परियार र भीमप्रकाश शर्माको चर्चा छ भने एमालेबाट टेकराज पछाई र जीतबहादुर मल्ल मन्त्री बन्ने सम्भावना रहेको छ ।

कर्णाली प्रदेशसभा सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश उपसचिव टेकराज पछाई भन्छन्, ‘पार्टीले जिम्मेवारी दिए मन्त्री बन्छु । जनताले अपेक्षा गरेर पठाएका छन्’, उनले भने, ‘मन्त्री हुने सम्भावना छ । गठबन्धन भएको ठाउँमा पार्टी नै नहुँदा जनताले जिताएर पठाएको हुँदा पार्टीले निर्णय गरेपछि मन्त्रीमा जान्छु ।’

 

Comments

2 responses to “कर्णालीमा उपसभामुख छोडेको राप्रपाले सरकारमा गर्‍यो दाबी, को-को बन्लान् नयाँ मन्त्री ?”

  1. Atal Chhetri Avatar
    Atal Chhetri

    रन्सिङ परियार मन्त्री हुनुपर्छ

  2. Nayan singh pariyar Avatar
    Nayan singh pariyar

    Ran singh pariyar hunuparxa manntiri

Leave a Reply

Your email address will not be published. Required fields are marked *