सभामुख आशनमा भूईं मान्छे

काठमाडौं । झापा क्षेत्र नं २ बाट पहिलोपटकमै चुनाव जितेका देवराज घिमिरे धेरैलाई सरप्राइज दिँदै सभामुख बन्न सफल भएका छन् । एमालेभित्र सभामुखको आकांक्षी धेरै भए पनि अध्यक्ष केपी शर्मा ओलीको नजिक रहेका पुराना नेता घिमिरे संसदको पहिलो यात्रामै सभामुख बन्न सफल भएका हुन् ।

बिहीबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनी विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुख निर्वाचित भए । घिमिरेले १६७ मत पाउँदा न्यौपानेले १०० मत ल्याइन् ।

निर्वाचित भएपछि उनले आफूले निष्पक्ष र स्वतन्त्र ढंगबाट संसदलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरे । उनले भने, ‘विगतबाट शिक्षा लिएर अघि बढ्ने स्वतन्त्र र निष्पक्ष ढंगबाट अघि बढ्छु । म दलीय व्यवस्थामा दलहरूको सुझाव लिएर निष्पक्ष ढंगबाट संसदलाई गति दिन्छु ।’

कतिपयले सभामुख घिमिरेलाई नयाँ अनुहारको रुपमा चित्रण गरे पनि एमालेको राजनीति बुझ्नेहरूका लागि उनी नयाँ होइनन् । प्रतिनिधिसभामा घिमिरेको इन्ट्री भने पहिलोपटक हो । किनकि उनले २०४८ सालमै प्रतिनिधिसभाको टिकट अर्को व्यक्तिका लागि त्यागेको इतिहास धेरैलाई थाहा छैन ।

को हुन् सभामुख घिमिरे ?

सभामुख घिमिरे झापा अर्जुनधारा नगरपालिका– ६ का बासिन्दा हुन् । उनको जन्म २०१३ साल जेठ १३ गत ताप्लेजुङको सिरिजंघा गाउँपालिका- ३ सिकैचामा भएको थियो । निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षा सुरु गरी ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कुलबाट विसं २०२९ सालमा एसएलसी उत्तीर्ण गरे । धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आईए गरेका उनले त्रिचन्द्र क्याम्पस काठमाडौंमा स्नातक अध्ययन गरेका छन् ।

राजनीतिक यात्रा

विसं २०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को-अर्डिनेशन कमिटी (कोके) गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका हुन् ।

२०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ-गाउँ पुगेर पार्टीको संगठन निर्माणमा खटिएका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरे ।

२०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरेले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा विभिन्न जिम्मेवारीहरु सम्हालेका छन् । २०३५ साल पुस ११ गते कम्युनिष्ट घटकहरु मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक, २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख भएका घिमिरे २०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरणपछि सम्पन्न नेकपा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बने ।

२०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज, २०५८ सालमा केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभागको इन्चार्ज । त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्ज, २०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्ष, २०७८ सालमा सम्पन्न नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्जसमेत बनेका थिए । भूमिगत राजनीतिकालमा पञ्चायती शासकले उनको राजनीतिक गतिविधि नियन्त्रण गर्न घिमिरेविरुद्ध पटक-पटक पक्राउ पुर्जी जारी गरेको थियो ।

त्याग र सफलता

भूमिगतकालमा २०३५ देखि २०४६ सालसम्म संगठन र नेतृत्व गरेका जिल्लाहरु तेह्रथुम, पाँचथर र इलाम आजसम्म कम्युनिष्टको मजबुत संगठनसहितको किल्लाको रुपमा स्थापित भएका छन् ।

२०४८ सालमा भएको आम निर्वाचनमा इलाम जिल्लामा आफूले पाएको टिकट अर्का नेतालाई प्रदान गरेर पार्टीको जीत निश्चित गर्न गरेको त्यागको परिणाम आजसम्म पार्टी लगातार विजयी भएको छ ।

२०४८ सालको निर्वाचनमा इलाममा २ क्षेत्र कायम हुँदा महासचिव मदन भण्डारीले क्षेत्र नम्बर १ मा झलनाथ खनाल र २ मा देवराज घिमिरेलाई उम्मेदवार बनाउन चाहे । तर, घिमिरेले जातीय सन्तुलनसमेत मिलाउनुपर्ने भन्दै आफ्नो साटो मणि सुब्बालाई उम्मेदवार बनाउन सुझाए ।

तत्कालीन अवस्थामा लिजेण्ड जस्तै मानिने नेता झलनाथले मणि सुब्बासँग जोडी नै नमिल्ने भन्दै देवराजलाई नै उम्मेदवार बनाउन चाहे । तर, देवराजले यसअघि पञ्चायतकालमा पनि पार्टीले नोबेलकिशोर राईलाई जनपक्षीय बनाएर जिताएको दृष्टान्त छ ।

२०५४ सालमा मेची अञ्चल इन्चार्ज भएको वेला सम्पन्न स्थानीय चुनावमा मेची अञ्चलका सबै जिल्ला विकास समिति र तीन चौथाइभन्दा बढी स्थानीय तहमा पार्टी जिताउन घिमिरे सफल भए ।

प्रदेश १ इन्चार्ज भएका वेला २०७९ सालमा सम्पन्न स्थानीय चुनावमा प्रदेश नं १ मा पाँचदलीय गठवन्धनको घेरा तोड्दै कुल ५ हजार ८६४ मध्ये सबैभन्दा धेरै २ हजार ६८५ जनप्रतिनिधि नेकपा एमालेबाट विजयी गराउन उनी सफल भए ।

२०७९ साल मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ प्रदेश नं १ मा नेकपा एमाले पहिलो दल बनाउन पनि घिमिरे सफल भए । २०७९ सालको चुनावमा हालसम्मको इतिहासमा कहिल्यै नजितेको सोलुखुम्वु जिल्लामा ५ दलीय गठबन्धनलाई हराउँदै नेकपा एमालेलाई उनैले विजयी गराए ।

पहिलो पटक झापा क्षेत्र नं २ बाट उम्मेदवार बन्दा पाँचदलीय गठबन्धन स्वतन्त्रलगायत सबैको घेरा तोडेर प्रतिनिधिसभा तथा प्रदेश भाका दुवै स्थानमा सानदार जीत निकालेका छन् । मदन भण्डारी फाउण्डेसनको कार्यालय प्रमुख भएर फाउन्डेसनको विस्तार र विकासमा समेत उनको योगदान छ ।

अधिकांश पदाधिकारीभन्दा सिनियर

संसदीय राजनीतिमा घिमिरे एमालेभित्रै नयाँ भए पनि पार्टीभित्रको वरियतामा भने अहिलेका अधिकांश पदाधिकरीभन्दा सिनियर हुन् । घिमिरेका अनुसार पार्टीभित्र (केन्द्रीय नेतृत्वमा) उनीभन्दा सिनियर ५ जनामात्र नेता छन् । अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेमात्र उनीभन्दा सिनियर हुन् । यस हिसाबले घिमिरे एमाले केन्द्रीय कमिटीमा रहेकामध्ये छैटौं वरियतामा पर्छन् ।

७० वर्षे उमेर हदका कारण अमृत बोहरा र केशव बडाल कार्यकारी भूमिकामा छैनन् । यद्यपि अनुशासन आयोग र सल्लाहकार परिषद् अध्यक्षका हिसाबले ती नेताहरू पार्टी भूमिकामा छन् । उनीहरूमध्ये बोहरा नेकपा मालेका संस्थापक नै हुन् भने बडाल कम्युनिष्ट आन्दोलनमा सिनियर हुन् ।

तत्कालीन झापा क्रान्ति हुँदै नेकपा मालेका संस्थापकमा पर्छन् ओली र पोखरेल । त्यसबाहेक विष्णु पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे २०४५ मा भएको नेकपा मालेको चौथो महाधिवेशनबाटै केन्द्रीय कमिटीमा पुगेका नेता हुन् । जुन महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गरेको थियो ।

२०४९ सालमा सम्पन्न पाँचौं महाधिवेशनबाट देवराज घिमिरे वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका थिए । त्यसैले पाँचजना नेतामात्र उनीभन्दा पहिलेका हुन् । सोही महाधिवेशनबाट अष्टलक्ष्मी शाक्य, किरण गुरुङ पनि केन्द्रीय कमिटीमा आएका थिए ।

२०४८ सालमा चुनाव लड्न नमानेका कारण देवराज संसदीय भूमिकामा पछि परेका हुन् । २०५६ सालमा उनी राष्ट्रियसभा सदस्य भएका थिए । पार्टीभित्र माधव नेपालको एकल दबदबा चलेका वेला उनी ओली निकट भएका कारण भूमिकाविहीन बनाइँदै गएका थिए । २०५८ सालसम्म उनी तत्कालीन मेची अञ्चल इन्चार्जको भूमिकामा थिए ।

त्यसवेला एमालेमा अञ्चल इन्चार्ज प्रभावशाली पद थियो । माधव नेपालले उनलाई मेची अञ्चल इन्चार्जबाट हटाएर काठमाडौं ल्याएपछि घिमिरे भूमिकाविहीन हुन थालेका थिए । पछिल्लो समय पार्टीमा चरम पेलानमा परेका घिमिरेलाई ओलीले आफू पार्टी सत्तामा आएसँगै सक्रिय बनाए ।

ओलीले आफू प्रमुख रहेको स्कूल विभागको उपप्रमुख हुँदै आफ्नो सचिवालयमा समेत राखेर घिमिरेलाई काम लगाएका थिए । पछिल्लो समय उनलाई पुनः पूर्वी भूगोलको काममा खटाएर प्रदेश १ को इन्चार्ज बनाइएको थियो ।

२०३५ सालदेखि पूर्णकालीन रूपमा भूमिगत भएर राजनीतिमा लागेका घिमिरेले सांसदको टिकट भने राजनीतिमा होमिएको ४४ वर्षपछि मात्र पाएको भए पनि पहिलाे पारीमै उत्कृष्ट सफलता हात पारेका छन् ।

Comments

One response to “सभामुख आशनमा भूईं मान्छे”

  1. बिमल गौतम Avatar

    देवराज भुईमान्छे होइनन मात्रीकाजी महाकाली सम्झौता उलटपुलट पार्ने खेलाफिहुन यो लेखमा चाप्लुसी बढी भएन आफै मनन गर्नुस या पाठकले गर्छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *