रुपन्देही । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडी क्षेत्रको कालीगण्डकी नदी छेउमा माघे संक्रान्ति मेला सुरु भएको छ । धार्मिक एवं ऐतिहासिकस्थल रिडीमा माघे संक्रान्तिको दिन स्नान गर्न आउने श्रद्धालुहरूको बिहानैदेखि घुइँचो लाग्ने गर्दछ ।
विगत तीन वर्षदेखि कोभिडका कारण सुनसानजस्तै बनेको रिडीमा यस पटक माघे संक्रान्ति मेलासँगै चहलपहलसमेत बढेको छ । अहिले यहाँको मेला रुरु फ्रेण्ड्स क्लवले व्यवस्थापन गरेको छ ।
माघे संक्रान्तिको अवसरमा रिडीस्थित काली गण्डकी नदीमा स्नान र पुजाआजाका लागि टाढाटाढावाट कतिपय श्रद्धालुहरु रिडी पुगेका छन् । माघ १ गते बिहानैदेखि ३ दिनसम्म नुहाउने प्रचलन रहेको छ । जेठो, माइलो र कान्छो संक्रान्तिको रूपमा तीन दिन मनाइने पुरानो प्रचलन रहेको स्थानीयको भनाइ छ ।
कालीगण्डकी नदीमा स्नान गर्न र यहाँस्थित ऋषिकेष भगवानको दर्शन गर्नका लागि देशका विभिन्न जिल्लाको साथै भारतबाट समेत श्रद्धालुहरु आउने गर्दछन् ।
यहाँ स्नान गरेर पूजा आराधना गरेपछि अन्जानमा गरेका सम्पूर्ण पापहरू नष्ट भई मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ । विशेष गरी माघे संक्रान्तिको दिनमा काली गण्डकीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तथा ऋषि ऋणसमेत तिरिने धार्मिक विश्वास रहेको छ । त्यही विश्वासका कारण हजारौंं श्रद्धालु माघे संक्रान्तिमा यहाँ आउने गर्दछन् ।
रुरुक्षेत्र गाउँपालिकाको संरक्षकत्वमा स्थानीय रुरु फ्रेण्ड्स क्लबको आयोजनामा रिडीमा पाँच दिनसम्म मेला लाग्ने गर्दछ । रुरुक्षेत्र गाउँपालिकाको आयोजनामा माघे संक्रान्तिको अवसरमा कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ ।

प्रदर्शनीमा घरेलु उत्पादित सामग्रीलगायत कृषि उपजहरु राखिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिदै आएको छ । यो नेपालका चार धाममध्ये एक भामका रूपमा लिइने गरिन्छ ।
रुरु क्षेत्र जसलाई रिडीको नामले समेत चिन्ने गरिन्छ, नेपालको रिडी खोला र कालीगण्डकी नदीको किनारमा अवस्थित एक धार्मिक र सांस्कृतिक स्थान हो । यो स्थानको बारेमा हिन्दू पुराण तथा शास्त्रहरूमा उल्लेख भएको पाइन्छ ।
हिन्दू धार्मिक ग्रन्थ बराह पुराणमा यस स्थानको पौराणिक इतिहास र स्वस्थानी किताबमा यहाँ सतीदेवीको दन्त पतन भएको वर्णन गरिएको छ । नेपालमा रहेका हिन्दू धर्मावलम्बीहरूको चार वटा धार्मिक क्षेत्रहरू (रुरु क्षेत्र, बराह क्षेत्र, पशुपति क्षेत्र र मुक्ति क्षेत्र) मध्ये यो पनि एक हो । यो स्थानलाई नेपालको बनारस भनेर चिन्ने गरिन्छ । यो धार्मिक स्थल हिन्दूहरूको लागि पवित्र घाट समेत हो ।
माघे सङ्क्रान्तिको तीन दिनसम्म यो क्षेत्रमा ’रिडी मेला’ धेरै पहिलेदेखि नै आयोजना गर्न थालिएको हो । यहाँ आयोजना हुने मेलाको पहिलो, दोस्रो तथा तेस्रो दिनलाई क्रमशः जेठी सङ्क्रान्ति, माइली सङ्क्रान्ति र कान्छी सङ्क्रान्ति भन्ने गरिन्छ । तर अहिले यहाँका क्लबले ५ दिनसम्म मेला लगाउन थालेका छन् ।
रुरु क्षेत्रमा रहेको ऋषिकेश परिसरलाई सन् २००८ मा युनेस्कोले सम्भावित विश्व सम्पदा क्षेत्र सूचीमा सामेल गरेको छ । भगवान विष्णुको प्रतीकको रूपमा रहेको शालिग्राम, यस क्षेत्र भएर बग्ने कालीगण्डकी नदीको तटीय क्षेत्रमा पाउने गरिन्छ ।
मकर संक्रान्तिको अवसर संचालन हुन लागेको रिडी मेलामा विशेष गरी कम्मल, काम्ला, राडी–पाखी, बाँस तथा चोयावाट निर्मित सामग्रीहरुका साथै ओखरका घाँजी, गुँड, सुन्तलालगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । संक्रान्तिको अवसरमा रिडीमा व्यापार गर्नका लागि वाग्लुङ्ग, रुकुम, रोल्पालगायतका ठाउँवाट पैदल यात्रा गरी मानिसहरु रिडी आइपुगेका छन् ।

Leave a Reply