सिके राउतको टिप्पणी- गठबन्धनको भर हुँदैन, हामी फस्दै गएको आभास गरेका छौँ (भिडिओ)

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले गठबन्धनको कुनै भर नहुने भएकाले आफूलाई वितृष्णा जागेको बताएका छन्।

सत्ता गठबन्धनको बैठकमा सहभागी हुन संसद् भवन पुगेका अध्यक्ष राउतले जनताले नयाँ दलमाथि गरेको विश्वास मर्न नदिने बताए।

उनले भने, ‘मधेशमा हाम्रो संख्या धेरै छ। यहाँ त हाम्रो धेरै छैन। गठबन्धनको भर रहेन छ, जुन बेला पनि परिवर्तन हुन सक्ने रहेछ। अनुभव गर्दै छु।’

उनले मधेश प्रदेशमा मुख्यमन्त्रीको दाबी रहेको बताए।

‘जनताले नयाँ पार्टीलाई बढी अपेक्षा गरेका हुन्छन्। तर, हामी जुन तरिकाले हामी फस्दै गरेको आभास गरेका छौँ। त्यो प्रति मलाई वितृष्णा जागेकै हो। आशा छ अब यसबाट कसरी बच्न सक्छौँ। जनताको आशालाई कसरी कायम राख्न सक्छौँ। हाम्रो ध्यान त्यसमा रहनेछ’ उनले भने।

उनले जनताको आशाप्रति खरो रूपमा उत्रने प्रतिबद्धता जनाए। आफू सरकारमा जानेबारे अहिले कुनै निश्चित नभएको बताए।

त्यसो त उनले आइतबार नै सत्ताको पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो नलागेको बताएका थिए।

उनले फेसबुकमा लेखेका थिए, ‘सत्ताको पहिलो क्लास आज। पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। काँधमा लाखौँ जनताको अपेक्षा र जिम्मेवारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि संन्यास लिइसक्थेँ होला। तर आफैँ जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *