१६ वर्षपछि बिपना थापाको कमब्याक, नीता ढुंगानाकाे फिल्ममा जोडिइन्

काठमाडौं । छायांकनको तयारीमा रहेको चलचित्र ‘ह्रस्वदीर्घ’मा अभिनेत्री बिपना थापा अनुबन्धित भएकी छन् । १६ वर्षपछि अभिनयमा कमब्याक गर्न लागेकी थापाले चलचित्रमा प्रमुख कलाकारको रुपमा प्रवेश गरेकी हुन् ।

बिपनाको कमब्याकबारे निर्देशक चन्द्र पन्त भन्छन्, ‘बिपनाजी चलचित्र दुनियाँबाट टाढा रहेपनि सधैँ यसै क्षेत्रमा रुचि राख्ने मान्छे हो । उहाँँ यहीँ क्षेत्रमा फेरि फर्कन चाहनुहुन्थ्यो। हाम्रो चलचित्रमा ठ्याक्कै उहाँजस्तै कलाकार चाहिने भएपछि हामीले पनि बिपनाजीलाई नै बोलाउ भनेर उहाँलाई प्रस्ताव राखेका हौँ ।’

सुरुवाती दिनहरुमा बलिउडबाट चलेको अनुहार ल्याउने प्लान टिमको भएको पन्तले बताए । तर चलचित्रको कथाअनुसार नेपाली कलाकार नै फिट हुँदै गएपछि मााहोल परिवर्तन भएको उनको भनाइ छ ।

चल्तीका कलाकारहरु राख्दासमेत फिल्म हलमा चल्न नसकेको अवस्थामा यति लामो समय ग्याप लिएको कलाकारलाई राख्दा तपाईलाई के फाईदा भन्ने प्रश्नमा मुस्कुराउँदै पन्तले जवाफ दिए, ‘हामीले नाफा-घाटा हेरेर उहाँलाई अनुबन्धित गरेका होईनौँ । त्यो पछिको कुरा हो । उहाँले यस क्षेत्रबाट लामो अनुभव बटुल्नु भएको छ । र हाम्रो चलचित्रले खोजेको चरित्रमा उहाँ फिट हुनुभएकाले हामीले उहाँलाई निम्त्याएका हौँ ।’

फेब्रुअरी १ देखि छायांकन सुरु गरिन यस चलचित्रमा यसअघि नै सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रम्हानन्द लगायतका नेपाली र भारतीय कलाकार तय भैसकेका छन् । बाँकी रहेका केही कलाकारहरु छिट्टै तय हुने पन्तको भनाई छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *