बुटवल प्रहरीविरुद्ध तेस्रोलिङ्गी सम्वद्ध संस्थाहरु विरोधमा, फुड फेस्टिबल रोक्ने चेतावनी

रुपन्देही । बुटवल प्रहरीले सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले ७ जना महिलालाई पक्राउ गरेपछि तेस्रोलिंगी सम्वद्ध संघसंस्थाहरु विरोधमा उत्रिएका छन् ।

बुटवल उपमहानगरपालिका क्षेत्रका विभिन्र सार्वजनिक स्थलहरुमा महिलाको समूहले पैदलयात्रीलाई यौनजन्य इशारा गरेर हैरान बनाउने गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले गत आइतबार उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरु १८ देखि ५० वर्ष उमेरका महिला छन् । पक्राउ परेका ७ जनाविरुद्ध मुलुकी अपराधसंहिताको दफा ११८ ९१० अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय बासिन्दाबाट कुटपिट भएपनि प्रहरीले तेस्रोलिङ्गीहरुलाई नै पक्राउ गरेको भन्दै विरोधमा उत्रिएका हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा प्रहरीकै अगाडि प्रहरीको लौरो खोसेर स्थानीय केही महिलाले तेस्रोलिङ्गीमाथि निर्घात कुटपिट हुँदासमेत प्रहरी मुकदर्शक भएर बसेको उनीहरुले आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै एक्लोलाई सहारा दिने वृक्ष अभियानका रेसम न्यौपानेले स्थानीयको गुनासाका आधारमा प्रहरीले तेस्रोलिङ्गीहरुलाई पक्राउ गरेपनि घटनाको यथार्थताबारे आफूहरुको कुरा प्रहरीले नसुनेको बताइन् ।

इलाका प्रहरी कार्यालय बुटवलमा घटनाबारे जानाकारी लिन खोज्दा आफूहरुलाई बेवास्ता गरेको भन्दै उनले पीडित र पीडकका कुरा प्रहरीले सुन्नुपर्ने उल्लेख गरिन् । साथै, उनले कुटपिट गर्नेहरुविरुद्ध मुद्दा दायर गर्न खोज्दा प्रहरीले निवदेन नै लिन इन्कार गरेको बताइन् ।

निवेदन दर्ताका लागि प्रहरीकहाँ पुग्दा विभिन्न बहाना बनाएको र घटनाक्रमबारे जानाकारी लिन र दिन पूर्णरुपमा अस्वीकार गरेको उनीहरुले बताएका छन् ।

फुड फेस्टिबल असफल पार्ने चेतावनी

प्रहरीले होटल व्यवसायीसहित विभिन्न टोल विकास संस्था, स्थानीयको जनगुनासोको आधारमा तेस्रोलिङ्गीहरुलाई पक्राउ गरेको बताए पनि होटल व्यवसायीहरुसमेत यस विषयमा संवादका लागि तयार नभएको न्यौपानेको भनाइ छ ।

उनले होटल व्यवसायीहरुले यदि कुनै पनि बाहनामा आफ्ना निर्दोष साथीहरु न्यायका लागि सहयोग नगरे होटल व्यवसायीले गर्ने भनेको सडक खाना महोत्सवलाई असफल बनाउन देशभरका तेस्रोलिङ्गी बुटवलमा बोलाउने चेतावनी दिइन् ।

पत्रकार सम्मेलनमा अवन्तिका घर्ती, अनु अनमोललगायतले बोल्दै समाजले फरक दृष्टिकोणले हेर्ने समुदायलाई प्रहरीले समेत अन्याय गर्दै आएको बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *