रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका क्षेत्रमा बस्तस्माथि रहेको विद्युतको हाइटेन्सन हटाउन माग गरिएको छ । नगर प्रमुख खेलराज पाण्डेयले नेपाल विद्युत प्राधिकरणमा पुगेर नगरभित्रको बस्तीमाथि रहेको विद्युत हाइटेन्सन तार व्यवस्थापन गर्न माग गरेका हुन् ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग काठमाडौंस्थित प्राधिकरणको कार्यालयमा भेटघाट गर्दै प्रमुख पाण्डेयले बस्तीमाथि रहेको हाइटेन्सन तारले बस्ती जोखिममा रहेको भन्दै बस्तीबाहिर सार्न आग्रह गरे ।
‘लामो समयदेखि बुटवलको बस्तीमाथिको हाइटेन्सन तारले बस्तीलाई जोखिममा पारेको छ, कतिपय स्थानमा दुर्घटना हुने गरेका छन्’, प्रमुख पाण्डेयले घिसिङको ध्यानाकर्षण गराउँदै भने, ‘बस्तीमाथिको तार बस्तीबाहिर सार्नका लागि प्राधिकरणले योजना ल्याओस्, हामी सहयोग गर्न तयार छौं ।’
नगरप्रमुख पाण्डेयले बुटवलमा शहरीकरण बढ्दै गएकोले खुला विद्युत तारहरुका कारण जोखिम बढेको बताउँदै भूमिगत गर्नका लागि योजना अघि सार्न पनि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको ध्यानाकर्षण गराए ।
‘बुटवलको बढ्दो शहरीकरणलाई ध्यानमा राखेर प्राधिकरणले भूमिगत रुपमा विद्युत वितरण गर्ने र व्यवस्थित गर्नेतर्फ पनि योजना अघि बढाउनुपर्छ’, उनले भने, ‘जुनसुकै योजना ल्याउँदा बुटवललाई प्राथमिकतामा राख्न मेरो अनुरोध छ ।’
नगरप्रमुख पाण्डेयले बुटवलमा उच्च क्षमताका सडक बत्ती राख्न बुटवल उपमहानगरपालिकाले तयारी गरेकाले सहयोग गर्नका लागि प्राधिरणका प्रबन्ध निर्देशक घिसिङलाई आग्रह गरे ।
भेटका क्रममा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बस्तीमाथिको हाइटेन्सन तार हटाउनका लागि प्राधिकरणले योजना अगाडि बढाउने प्रतिबद्धता जनाएको पाण्डेयले बताए ।
घिसिङले पाल्पामा सब स्टेशन निर्माण भएपछि बुटवलमा तार व्यवस्थापन र भूमिगत तारको लागि काम अघि बढाउनका लागि योजना ल्याउने बताएका थिए ।
यसैगरी प्रमुख पाण्डेयले बुटवलभित्रका सडक निर्माणलाई तीब्रता दिन सडक विभागको ध्यानाकर्षण गराएका छन् ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग विभागको काठमाडौंस्थित कार्यालयमै भेटेर बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीबारे ध्यानाकर्षण गराएका हुन् ।

पटक पटक सहजीकरण र समन्वय गर्दापनि सडक निर्माणमा तीब्रता नदेखिएकाले बुटवलबासीको तर्फबाट पाण्डेले सडक विभागसामु विरोध जनाएका थिए । प्रमुख पाण्डेयले योगीकुटीदेखि चिडियाखोलासम्म आठ वटा स्थानमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइट राख्नुपर्ने भएकाले त्यसमा सहयोग र सहजीकरण गर्न विभागका महानिर्देशक थापालाई आग्रह गरे । उनले सडक निर्माणसँग सडकको सौन्दर्यीकरणका बारेमा समेत चासो दिनका लागि थापालाई सुझाव दिए ।
भेटघाटका क्रममा महानिर्देशक थापाले सडक निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न विभाग प्रतिबद्ध रहेको बताउँदै निर्माण कम्पनीलाई छिटो काम सक्न ताकेता गरिरहेकाले छिटै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

Leave a Reply