कर्णालीमा प्रचण्डले भने : जनतासँग माफ नमागे चुनावमा ओली पत्तासाफ हुन्छन्

जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कर्णालीमा प्रतिगामी, निरंकुशतावादी र सामन्तवादीहरुलाई शून्य बनाउनु पर्ने बताएका छन् । मंगलबार जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रतिगमनकारी, निरंकुशतावादी र सामन्तवादीलाई शून्य बनाएर कर्णालीवासीले रेकर्ड राख्नुपर्ने बताए ।

उनले भने, ‘तपाईं कर्णालीवासीले प्रतिगमनकारीहरुलाई शून्य बनाएर रेकर्ड बनाउनु पर्नेछ । कर्णाली प्रदेश जागरण र परिवर्तनको प्रदेश, न्याय समानताको पक्षमा दृढतापूर्वक उभिने प्रदेशका रुपमा खडा गर्नुपर्ने छ। जुम्लावासीले रेकर्ड बनाए कर्णालीभरि नै त्यही बन्नेछ ।’

मंसिर ४ गते दुई विचार, दुई प्रवृत्ति, दुई संस्कृतिका बीचको चुनावी लडाईं भएको बताए । यो निर्वाचनमा एउटा गठबन्धन ७० वर्ष लडेर प्राप्त गरेका अधिकार रक्षा गर्न चाहने पक्षमा उभिएको उनको भनाइ छ।

प्रचण्डले भने, ‘अर्को गठबन्धन संविधान तथा जनताले पाएको अधिकार उल्ट्याउन चाहने केपी ओली नेतृत्वको गठबन्धन छ । त्यसैले यो सामान्य औपचारिक निर्वाचनको अभ्यास मात्रै छैन । जनताले जनताको अधिकारको रक्षा गर्ने कि यसलाई उल्ट्याउने भन्नेका बीचको लडाइँको रुपमा मंसिर ४ को निर्वाचन छ ।’

दुई तिहाइको सरकार बचाउन नसक्ने, संविधानमाथि घात गर्ने, संसद् विघटन गर्ने र पार्टी विघटन गरेर धुजा धुजा पार्ने एमाले अध्यक्ष ओली यही निर्वाचनबाट पत्तासाफ हुने जिकिर गरे । ओली नेतृत्वको गठबन्धनलाई भोट दिनु भनेको निरंकुशता र अराजकताको भूमरीतर्फ देशलाई लैजान चाहनु भएको उनको भनाइ छ ।

देशलाई फेरि विघटन र प्रतिगमनतिर जान नदिन सचेत भएर वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा भोट खसाल्न समेत आह्वान गरे। देशमा राजनीतिक स्थिरता र आर्थिक विकास आवश्यक रहेको भन्दै अध्यक्ष प्रचण्डले ७० वर्षसम्म लडेर ल्याएको संविधानलाई च्यात्ने केपी ओलीले जनतासँग माफी माग्नुपर्ने बताए ।

ओलीले संविधान मिचेर लोकतन्त्रका आधारभूत मूल्यमान्यता भत्काएपछि आफूहरुले वाम लोकतान्त्रिक शक्ति मिलेर अहिलेको गठबन्धन बनाएको आरोप लगाए ।

कर्णालीको विकासमा प्राथमिकतामा

आगामी निर्वाचनपछि वाम-लोकतान्त्रिक गठबन्धनकै सरकार बन्ने भन्दै प्रचण्डले कर्णालीको विकास पूर्वाधारका लागि विशेष प्राथमिकता दिने बताए । कर्णालीको सडक पिचसँगै फराकिलो बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले आर्थिक गतिविधि र व्यापार व्यवसायको विकासका लागि समेत सडक पूर्वाधार अति आवश्यक भएको बताए ।

उनले भने, ‘कर्णालीमा पहिले बिरामी ओसारिन्थ्यो, अहिले डाक्टर उत्पादन गरेर देशभरिका बिरामीलाई उपचार गर्न पठाउन सक्ने भइसकेको छ। हामीले कर्णाली र सुदूरपश्चिमको भौतिक विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन विकासमा जोड दिने भनेका छौं ।

कर्णालीको विकास हाम्रो जुम्लाबाट माओवादी केन्द्रका नेता गोमा कुँवरलाई गठबन्धनको साझा उम्मेदवार उठाइएको भन्दै प्रचण्डले संघ र प्रदेशका गठबन्धनका सबै उम्मेदवारहरुलाई भोट दिई जिताउन जुम्लावासीलाई आग्रह गरे ।

 

 

Comments

One response to “कर्णालीमा प्रचण्डले भने : जनतासँग माफ नमागे चुनावमा ओली पत्तासाफ हुन्छन्”

  1. ksp pyl Avatar
    ksp pyl

    विदेशी दलाल रहने ओलि पत्तासाफ हुने ? अब मोदीका चम्चाहरूलाई काशी पठाईदिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *