चर्चामा भाइ अञ्जन, गुमनाम छन् दाइ रञ्जन

काठमाडौं। बंगलादेशविरुद्ध बुधवार भएको खेलमा ह्याट्रिक गरेपछि यति बेला चर्चामा छन्, नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्ट।

उनकै तीन गोल मदतमा नेपालले दशरथ रंगशालामा बंगलादेशलाई ३-१ गोलले हरायो र लगातार पाँच खेलको पराजय यात्रामा पूर्ण विराम लगायो ।

अञ्जनले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा १० गोल गरेका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गर्न उनी तीन गोलले मात्र पछाडि छन् ।

हेटौँडाका अञ्जन एन्फा एकेडेमीका उत्पादन हुन् । उनका सहोदर दाइ रञ्जन पनि फुटबलर हुन् । रञ्जन पनि एन्फा एकेडेमीका उत्पादन हुन् । कुनै समय राष्ट्रिय टोलीमा सँगै रहेका यी दाजुभाइमध्ये रञ्जनले भने राष्ट्रिय टोलीमा स्थान बनाउन संघर्ष गरिरहनु परेको छ।

रञ्जनले नेपालका लागि २ खेल मात्र खेलेका छन् भने अञ्जनले ५० खेलको कोसेढुंगा पुरा गरेका छन् । रञ्जनले सन् २०१६ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । उनले बंगलादेशसँग भएको त्यस खेलमा अन्तिम १७ मिनेट खेलेका थिए ।

त्यही वर्ष उनले मालदिभ्ससँग पनि अन्तिम ११ मिनेट खेलेका थिए । उनी पहिलो रोजाइको मिडफिल्डरमा दरिन सकेनन् । उनी अन्य ८ खेलमा टोलीमा रहेर पनि मैदान उत्रन सकेनन् ।

रञ्जन अन्तिम पटक सन् २०१९ को मार्चमा राष्ट्रिय टोलीमा थिए । त्यसयता उनी टोलीमा अँटाउन सकेका छैनन्। उनले गत सिजन न्युरोड टिम (एनआरटी)बाट ए डिभिजन लिग खेलेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *