सभामुख र उपसभामुखको पद खाली गराउन मागसहित सर्वोच्चमा रिट दायर

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ताहरु किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानून मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध रिट दायर गरेका हुन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची प्रकाशित गरिसकेकाले मुद्दाको अन्तिम किनारा नलागुन्जेल सभामुख र उपसभामुखका रुपमा दिइने सेवासुविधा प्रयोग गर्न रोक लगाउनसमेत रिटमा माग गरिएको छ । रिटमाथि शुक्रबारलाई पेसी तोकिएको छ।

प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र पदमा बहाल रहने व्यवस्था उल्लेख गर्दै रिटमा सभामुख र उपसभामुखको पद खाली गराउन माग गरिएको हो ।

नेपालको संविधानको धारा ९१ को उपधारा (६) (क) मा प्रयुक्त पदावली ‘तर प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन्’ अन्यथा प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त हुनेछ भन्ने कुरा स्पष्टसँग उल्लेख गरिएको रिटमा भनिएको छ ।

‘राजनीतिक दलले प्रतिनिधिसभा निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ उम्मेद्वारहरूको बन्दसूची पेस गरिसकेको अवस्थामा पनि सभामुख र उपसभामुखले संविधानको धारा ९१(६)(क) को मर्म र भावनाविपरीत आ-आफ्नो पदबाट राजीनामा गर्नुभएको छैन जसले गर्दा राज्यलाई थप आर्थिक भार पर्ने निश्चित छ । सभामुख र उपसभामुखको पदावधि सकिँदा पनि राज्य स्रोत साधन तथा प्राप्त सेवा सुविधाहरुको प्रयोग गरिरहनु भएको छ, यो दुरूपयोग सविंधानमाथिको निर्मम प्रहार र धोकाधडी हो ‘, रिटमा उल्लेख छ ।

रिटको पूर्णपाठ:

Comments

One response to “सभामुख र उपसभामुखको पद खाली गराउन मागसहित सर्वोच्चमा रिट दायर”

  1. ksp pyl Avatar
    ksp pyl

    संसद नै छैन । लाज पचाएकाहरू अझै झण्डा हल्लाउँदैछन् । यस्ता अनैतिक पदका भोकाबाट के आशा गर्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *