खानेपानी संस्थानमा मन्त्री चौधरीका ४६ जना कुटुम्ब भर्ती गर्ने तयारी, पदपूर्ति समितिका अध्यक्ष नै फेरिए (सूचीसहित)

काठमाडौ । खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्वाचन आचारसंहिताविपरीत नेपाल खानेपानी संस्थानमा आफ्ना आफन्त र कार्यकर्ता भर्तीको अन्तिम तयारी गरेका छन् । उनले तत्काल झण्डै चार दर्जन कर्मचारी नियुक्त गर्न संस्थानलाई दबाब दिएको स्रोतले बतायो ।

गत चैत १ गते संस्थानले १ तहदेखि ३ तहसम्मका लागि ४६ जना कर्मचारीको दरखास्त आव्हान गरेको थियो । सो सूचना प्रकाशनपछि ११ सय ५८ जनाले फारम भरेका थिए । ती पदको लिखित तथा मौखिक परीक्षामा पास हुने अधिकांश व्यक्तिहरू खानेपानीमन्त्री चौधरीका आसेपासे रहेको स्रोतको दाबी छ । नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाखर भुसालले मन्त्री चौधरीको निर्देशनअनुसार ३ वटा परीक्षा केन्द्रमा पास गर्नुपर्ने व्यक्तिहरूको लिस्ट नै पठाएका थिए । परीक्षा समितिमा पनि आफूअनुकूलका व्यक्तिहरू राखेको बुझिएको छ ।

लिखित तथा मौखिक परीक्षाको नाटक मञ्चन गरेर आफन्त र कार्यकर्ताहरू भर्ती गर्ने तयारी भएपछि खानेपानी बोर्डभित्र खैलाबैला मच्चिएको छ । निर्वाचन आयोगले भदौ २० गते सूचना जारी गर्दै कर्मचारीको नियुक्ति, सरुवा र बढुवाजस्ता कामहरू तत्काल रोक्न सरकारलाई निर्देशन दिएको थियो । त्यसलाई लत्याउँदै मन्त्री चौधरीले आफ्ना मान्छे भर्ना गर्नका लागि प्रक्रिया अगाडि बढाउन दबाब दिएका हुन् ।

कर्मचारी भर्तीमा असहमति राखेपछि बोर्ड सदस्य एवम् पदपूर्ति समितिकी संयोजक निरु दर्लामीलाई सो पदबाटै हटाइएको छ । हिजो बसेको बोर्ड बैठकले उनको स्थानमा मन्त्रीका विश्वासपात्र खानेपानी मन्त्रालयका सहसचिव तिरेशकुमार खत्रीलाई पदपूर्ति समितिको संयोजक तोकेको हो । आज बुधवार दिउँसो तीन बजे बस्ने बैठकले कर्मचारी नियुक्तीको थप प्रक्रिया अगाडि बढाउने तयारी गरिएको स्रोत बताउँछ ।

मंगलबारको बोर्ड बैठकमा निर्वाचन आयोगको राय लिएपछि मात्रै कर्मचारी भर्नाको थप प्रक्रिया अगाडि बढाउन सकिने अडान पदपूर्ति समितिकी संयोजक दर्लामीले राखेकी थिइन् । तर, बोर्ड अध्यक्ष भुसाल कुनै पनि हालतमा कर्मचारीहरूको भर्ना प्रक्रिया अगाडि बढाउनु पर्ने भन्दै जंगिएको स्रोतले बतायो । दर्लामी एमालेकी केन्द्रीय सदस्य हुन् भने भुसाल पनि एमालेनिकट हुन् ।

आजै नियुक्तिको तयारी गरिएका कर्मचारीहरूमा आशिष चौधरी, त्रिपुरेश्वर चौधरी, धर्मराज चौधरी, रामविश्वास चौधरी, प्रदीपकुमार रजक, राहुल चौधरी, सञ्जय चौधरी, सुनिलकुमार थारु, गणेशबहादुर भण्डारी, रामप्रसाद हरिजन, मेघराज राना, अनिल विश्वकर्मा, गिता घिमिरे, मेनका चौधरी, सुमन थापा, मञ्जु अधिकारी, अमलेन्द्रकुमार यादव, दीपक चौधरी, सुश्मा झा, अर्चना अधिकारी धामी, विवेक चौधरी, तिर्थ थापा, समिर लामा, जयनारायण महत्तो, सुवास ठकुरी, मोतिलाल पुन, लक्ष्मीनारायण गडेरी, बैजु चौधरीलगायत छन् । उनीमध्ये अधिकांस मन्त्री चौधरीका आसेपासे र आफन्त हुन् ।

निर्वाचन आचार संहिताविपरीत कर्मचारी नियुक्त गर्न लागिएको विषयमा बोर्ड अध्यक्ष भुषाललाई प्रश्न गर्दा उनले यसको सबै जिम्मेवारी पदपूर्ति समितिमा रहने भन्दै पन्छिए ।

‘मेरै अनुरोधमा अनुभवी सहसचिव खत्रीज्यूलाई पदपूर्ति समितिमा ल्याएका छौं । सबै निर्णय उहाँले गर्ने हो । तत्काल कर्मचारी नियुक्त गर्न लागिएको भनेर उहाँले मलाई जानकारी दिनुभएको छैन,’ भुसालले भने ।

उनले आज पदपूर्ति समितिको बैठक रहेकोबारे पनि आफूलाई जानकारी नरहेको बताए । मन्त्रीबाट दबाब आएको विषयमा प्रश्न गर्दा उनले भने, ‘कर्मचारी नियुक्तिको एउटा प्रक्रिया हुन्छ । त्यही प्रक्रियाबाट लिखित र मौखिक परीक्षा लिएर ४६ जना उत्तिर्ण भएका छन् । उनीहरूको नाम लिस्ट अहिलेसम्म गोप्य नै छ । त्यसैले अहिल्यै फलानो र ढिस्कानोका मान्छे भनेर कसरी भन्न मिल्छ ?’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *