रुस-युक्रेन युद्ध: बन्दुकसँग गितार साटेको एक युक्रेनी ‘रक ब्याण्ड’ को कथा

काठमाडौं । करिब ६ महिना अगाडिको कुरा हो । युक्रेनका आम मानिसहरुबीच एउटा रक ब्याण्ड ‘एन्टिटिला’ मायाका गीत गाएर सबैलाई मनोरन्जन प्रदान गर्ने ब्याण्डको रुपमा परिचित थियो । त्यही ६ महिना अगाडिसम्म मात्र त्यस ब्याण्डका सदस्यहरु टेरस टोपोलिया, सरिही भुसेक, डमिट्रो जोलुड र डमिट्रो भोडोभिजड नितान्त संगीतकर्मीको रुपमा परिचित थिए ।

तर, एकाएक समयले कोल्टे फेर्‍यो । कोल्टे फेर्‍याे भन्नुमात्र जायज नहोला । समयले युक्रेनमाथि बज्रपात गर्‍यो । रुसी बङ्करले आम युक्रेनीका जीवन कुल्चिन थाले । क्षेप्यास्त्रले निर्दोषहरुका शीर उड्न थाले । प्रश्न राष्ट्रियतामाथि मात्र उठेन । प्रश्न अस्तित्व रक्षा कसरी गर्ने भन्ने पनि उठ्न थाल्यो । राष्ट्रियता र अस्तित्वमाथि नै प्रश्न उठ्न थालेपछि हजारौं नागरिकले बन्दुक उठाएर युद्धभूमिमा होमिने निर्णय गरे ।

त्यही हजारौंको भीडमा मिसियो ‘एन्टिटिला’ । गितार, भ्वाइलिन, ड्रम आदिको सुमधुर आवाजबीच रमाइरहेको ‘एन्टिटिला’ गोली, बन्दुक, रोदन, चिचाहट र त्रासको कर्कश आवाजको बीचमा रहनु नै आफैंमा ठूलो चुनौती थियो ।

तर पनि ब्याण्डले उक्त चुनौतीलाई स्वीकार्ने निर्णय गर्‍यो । आजसम्म त्यो ब्याण्ड युद्धभूमिमै छ । जन्मभूमिको रक्षा गर्ने क्रममा घाइते भएकाहरुलाई मलमपट्टी गरिरहेको छ । ब्याण्डका ‘फ्रन्टम्यान’को रुपमा चिनिने टेरेस टोपोलिया अहिले युद्धको ‘फ्रन्टलाइन’ मा छन् ।

उनी भन्छन्, ‘हामीले गाउने गीतले मायाको कम्पन महसुस गराउँछ, युद्धले घृणाको कम्पन महसुस गराउँदो रहेछ ।’

उन्मुक्त भएर कल्पनाको सागरमा डुब्लिकी मार्दै सिर्जनाका मोतीहरुलाई गीतमा बुन्न खप्पिस यो ब्याण्ड अहिले सानो स्टोरभित्र प्राथामिक उपचारका किटको स्टक गन्नमा व्यस्त देखिन्छ । ब्यान्डका सदस्य भन्छन्, ‘यिनै किटहरुको मद्दतले हामीले धेरैको ज्यान बचाससक्यौं । ‘एन्टिटिला’ले मेडिकल किटको स्टोर रुममा आफूहरुको पोस्टर पनि राखेको छ । पोस्टर हेर्दै ब्यान्डका सदस्यहरु भन्छन्, ‘यो त्यो शान्तिपूर्ण समयको चिनो हो ।’

एन्टिटिला’को स्थापना भएको एक दशकभन्दा बढी भइसक्यो । यो अवधिमा टेरस, सरिही, जोलुड र भोडोभिजडले ७ वटा एल्बम निकालेका छन् । हजारभन्दा बढी ठाउँमा सँगै प्रस्तुति दिएका छन् । ब्याण्डमा किबोर्डमाथि घिसारिने सिरिहीका औंलाहरुले अहिले घाइतेका घाउमा मलमसहित घिसारिन्छन् ।

टोपोलिया आफै दुई सन्तानमा पिता हुन् । ‘एन्टिटिला’का हरेक सदस्यहरु अहिले आफ्नो परिवारबाट टाढा छन् । युद्धको बीचमा छन् । तर पनि उनीहरु वेला वेलामा हाँसो मजाक गरिरहन्छन् । सरिही भन्छन्, ‘यो कठिन समयसँग जुध्न हँसीमजाक गरिरहनुपर्छ । यसले कसरी मद्दत गर्छ थाह छैन । तर, गर्छ ।’

यी ६ महिनामा उनीहरुले धेरै अनुभव बटुलेका छन् । आफ्नै अगाडि आफ्नो साथीलाई गोली लागेको देखेका छन् । बाख्राको मायाले वार जोन छोड्न नमानेकी महिलालाई भेटेका छन् । घाइते बिरामीलाई अस्पताल लैजाँदा उनीहरुसँगै आफूहरु पनि रोएका छन् । युद्धको बीचमा रहेका टोपिलिया भन्छन्, ‘साँझको समयमा आफ्ना परिवारसँगै बसेर खाना खाएको, वाइन पिएको साह्रै याद आउँछ ।’

टोपोलियाबाट टाढा रहेकी उनकी श्रीमती भन्छिन्, ‘मेरो आजभोलि आँसु पनि झर्दैन । मलाई लाग्छ यो सपना हो । म ब्युँझिन चाहन्छु आफ्नै घरमा ।’

घाइतेहरुलाई मलमपट्टी गर्दैगर्दाको बीचमा एन्टिटिलाले सहयोगार्थ भर्चुअल कन्सर्टमा पनि सहभागिता जनाउने समय निकालेको छ । युद्धभूमिकै बीचबाट विश्व प्रख्यात एडसेरेनसँग सहकार्य गर्न पनि भ्याएको छ ।

(बीबीसीको वृत्तचित्र ‘एन्टिटिला : द रक ब्याण्ड द्याट स्वापड द गितार फर अ गन्स’मा आधारित)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *