गठबन्धनमा भागबण्डाबारे प्रचण्डले भने- पहिला जितेको ठाउँमा मिलिसक्यो, कति थप्ने भन्ने २/३ दिनमा टुंगिन्छ

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको दुई/तीन दिनभित्रै गठबन्धन दलबीच सीट बाँडफाँट टुंगिने बताएका छन् । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आएका उनले गठबन्धन दल भागबण्डाको अन्तिम तयारीमा रहेको बताए ।

‘कार्यदलले अध्ययन गरिरहेको छ’, प्रचण्डले भने, ‘कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ, त्यसलगत्तै कार्यदलको प्रतिवेदनका आधारमा सीट बाँडफाँटको टुंगो लगाउँछ ।’

उनले अघिल्लो निर्वाचनमा जुन क्षेत्रमा जुन दलले जितेको थियो, त्यही दललाई दिने सैद्धान्तिक सहमति भएको बताए ।

‘त्यसबाहेक थप कति वटा सीट कुन दललाई दिने भन्नेमा टुंगो लगाउन मात्र बाँकी छ । हामीले छिटोभन्दा छिटो सीट टुंगो लगाएर चुनावी तयारीमा जुट्न चाहन्छौँ’, उनले भने ।

७४ को चुनावभन्दा आगामी मंसिर ४ मा माओवादीले बढी सीट जित्ने प्रचण्डको दाबी छ ।

यसैबीच नेकपा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यको बैठक आज जनकपुरधाममा सुरू भएको छ । जनकपुरधामस्थित होटल राजदरबारमा दिउँसो २ बजेदेखि सुरु बैठकलाई अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ), नेताहरू मात्रिकाप्रसाद यादव, गिरीराजमणि पोखरेललगायतका नेताहले सम्बोधन गर्ने माओवादी केन्द्र मधेस प्रदेशका इञ्चार्ज गणेश साहले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *