सरकारी डाक्टरको व्यवहार कहिलेसम्म यस्तो ?

कुरो केही दिन अगाडिको हो । मलाई एउटा सिफारिस बनाउनु थियो । त्यो पनि विराटनगरको कोसी अस्पतालकै । सम्बन्धित चिकित्सकलाई भेट्नुपर्ने भयो । नेपालको अघिल्लो वर्ष र यसपालिको बजेट भाषणमा पनि क्यान्सर, मृगौला पीडित, मेरुदण्ड पक्षघातलगायतका केही बिरामीका लागि महिनाको ५ हजार भत्ता दिने विषय समेटिएको थियो । रकम सानो भए पनि मेरो लागि त्यो रकमले औषधि किन्न थोरै भए पनि राहत मिल्थ्यो ।

म सीधै कोसी अस्पताल क्यान्सर विभागको ओपीडी पुगें । त्यहाँ मैले अन्कोलोजिस्ट डा. रगिन कठेतलाई भेटे र भनें- मलाई तपाईंको एउटा सिफारिस चाहिएको थियो । उहाँले डकुमेन्ट देखाउन भन्नुभयो । मैले डा. विशेष पौडेल, जो हेमाटोलोजीका प्रोफेसर हुनुहुन्छ, उहाँले दिएको सिफाारिसपत्र देखाएँँ । निजामती कर्मचारी अस्पतालको लेटरहेडमा उहाँको दस्तखत भएको पत्र थियो त्यो । उहाँले अरु पनि डकुमेन्ट देखाउन भन्नुभयो । मैले भर्खरै फलोअपमा गएर आएको सिभिल अस्पतालको ओपीडी पुर्जा पनि देखाएँँ । अरु केही प्रमाणहरु पनि लगेको थिएँ, ती सबै देखाएँँ ।

तर, उहाँले तपाईंको बोनम्यारो परीक्षणको रिपोर्ट देखाउनुहोस् भनेर जिद्धी गर्नुभयो । मैले भनें- म स्वयं प्रमाण हुँ । मेरो बोनम्यारो प्रत्यारोपण गरेको एक वर्ष भयो । कुनै व्यक्तिले मलाई क्यान्सर भएको थियो भनेर भन्छ भने ऊ स्वयं प्रमाण हैन ? मैले प्रतिप्रश्न गरे । उहाँले मान्नुभएन । मैले मास्क लगाएको थिएँ । मास्क खोलिनँ । मास्क खोलेको भए मलाई चिन्नुहुन्थ्यो कि त्यो पनि थाहा छैन ।

मैले आफूले ल्याएका भएभरका प्रमाणहरु एकएक गर्दै देखाएँँ । त्यसपछि उहाँले झर्किंदै भन्नुभयो- तपाईंलाई यो पेपरमा आफैं बाठो भएर भर्न कसले सिकायो ।

अनि तपाईंले एक वर्षअघि स्वास्थ्य बीमाका लागि सिफारिस गरेको व्यक्ति पनि मै हो भन्दै त्यसको प्रमाण पनि देखाएँ । अहँ उहाँ अझै मान्नुभएन । एक मनले मेसुलाई भन्न लगाउँ कि भन्ने सोचेँ । त्यहाँका मेसु डा. यज्ञराज खरेल (दुई दिनअघि मात्र ६ महिनामै हटाइयो) लाई म राम्ररी चिन्दथें । उहाँसँँग दोहोरो चिनजान नै थियो । फेरि सुशीला पाठकलाई भन्न लगाउँ कि जो कान्तिपुर टेलिभिजनकी संवाददाता थिइन् । सुशीलासँग ती चिकित्सकको राम्रो चिनजान भएको मलाई थाहा थियो । सुशीलालाई भन्न पनि मन लागेन ।

म मकालु टेलिभिजनको समाचार प्रमुख हुँ भनौं कि भन्ने पनि सोचें । त्यो पनि भन्न मनले मानेन । किनभने मलाई सितिमिति संस्थालाई भजाउन मन लाग्दैन । म त्यत्तिकै घर फर्किएँ ।

भएभरका प्रमाणहरु लिएर फेरि त्यही पुगे । पहिलेको कोठामा उहाँ भेटिनुभएन । सोध्दैखोज्दै गएपछि उहाँलाई केमोथेरापी दिइरहेको कोठाको काउण्टरमा फेला पारें । मैले आफूले ल्याएका भएभरका प्रमाणहरु एकएक गर्दै देखाएँँ । त्यसपछि उहाँले झर्किंदै भन्नुभयो- तपाईंलाई यो पेपरमा आफैं बाठो भएर भर्न कसले सिकायो । मैले भनें- वडा कार्यालयमा मैले यो फारम लिँदा आफैं भर्न भनिएको भएर भरेको हो, तपाईं हस्ताक्षर गर्दिनु न भनें ।

तर, उहाँ मान्नुभएन । उहाँले हकार्दै काउण्टरबाट एउटा नबुझिने फोटो कपि पेपर निकालेर आफैं भर्न थाल्नुभयो, जो उहाँसँग पनि रहेछ । अनि नबोली मलाई दिनुभयो । त्यसपछि म नरमाइलो मान्दै वडा कार्यालयमा आएर त्यो सिफारिसपत्र बुझाएँ । पटकपटक मरेर बाँचेको म क्यान्सर सर्भाइभर, मैले त यथेष्ठ प्रमाण हुँदाहुँदै एउटा सरकारी डाक्टरबाट यस्तो भुक्तमान खेप्नुपर्‍यो भने सर्वसाधारणको के हविगत होला कल्पना गरौं ।

Comments

4 responses to “सरकारी डाक्टरको व्यवहार कहिलेसम्म यस्तो ?”

  1. Nar gurung Avatar
    Nar gurung

    तिमी जस्तो दिमखा नभएको मान्छे सिधा सिधा कुरा गर्नु पर्छ नि घुमाएर कुरा गरे पछि एत्रो मान्छ त l

    1. कमल पौडेल Avatar
      कमल पौडेल

      तपाइको बिचारमा मैले सोर्स लगाउनु, सस्थालाइ भजाउनु पर्थो ?

  2. Hari prasad dahal Avatar
    Hari prasad dahal

    यो खबर पढ्दा अतिनै दु:ख लाग्यो ! मेरा मित्र क्यान्सरको चरम पीडा बाट बल्ल नर्मल अवस्थामा आउदै हुनुहुन्छ । राज्यले दिने अलिकति सुबिधाले भएपनी मलम पट्टी लाग्छ कि भनेर सिफारिस लिन जादा अनावश्यक दुख दिने त्यो डाक्टरलाई सम्बन्धित निकायद्वारा स्पष्टीकरण सोधियोस ! नत्र हामीले नै सम्झाउनु नपरोस् ।।

  3. Chandra Timsina Avatar
    Chandra Timsina

    लेख पढ्दा, सिफारिस फारम डाक्टरले स्वयम् भर्नुपर्ने रहेछ भन्ने वोध भयो । तर “तपाईंलाई यो पेपरमा आफैं बाठो भएर भर्न कसले सिकायो ” भन्ने वाक्यले डाक्टरको रुखो पन पनि देखियो । सरकारले सहयोग स्वरुप दिएको रकम प्राप्त गर्ने व्यक्ति प्रति, कार्यक्षेत्रमा खटिने सम्बन्धित निकाय र जिम्मेवार पधधिकारीले पनि सम्मान र सहयोगी भावनाले काम गर्न सके सो सेवाबाट पाएको राहतले ठुलो सकारात्मक परिणाम दिन्छ । अनि वास्तवमै त्यो दिने व्यक्ति र संस्था प्रतिको सम्मान पनि बढ्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *