सिन्धुलीमा राजन दाहालको शक्ति प्रदर्शन, उम्मेदवार सिफारिसमा हरिबोल निरीह

सिन्धुली । नेकपा (माओवादी केन्द्र)का बाहुबली नेता राजन दाहालले सिन्धुलीमा आफ्नो शक्ति प्रदर्शन गर्दा पार्टीका उपमहासचिव तथा अध्यक्ष प्रचण्डका निकटस्थ मानिने प्रभावशाली नेता हरिबोल गजुरेल भने निरीह बनेका छन् ।

जिल्ला इन्चार्ज समेत रहेका प्रदेश सभा सदस्य दाहालले सिन्धुलीका ९ वटै पालिका कमिटी बैठक राखेर दुवै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो एकल नाम सिफारिस गराएका छन् ।

सिन्धुलीका सबै पालिका कमिटीहरुको शनिवारको बैठकले जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)लाई प्रतिनिधिसभा सदस्यका लागि दुवै क्षेत्रमा सिफारिस गरेको गोलञ्जोर गाउँपालिका उपाध्यक्ष समेत रहेका प्रदेश कमिटी सदस्य ज्वाला प्रसाद न्यौपानेले जानकारी दिए ।

सिन्धुलीमा दुई निर्वाचन क्षेत्र छन् । दुवैबाट राजन दाहाल सिफारिस भए पनि १ नम्बर क्षेत्र कांग्रेसले पाउने निश्चित छ । माओवादी नेता हरिबोल गजुरेलले २ पटक जितेको र माओवादीको बलियो पकड मानिएको क्षेत्र नम्बर २ बाट राजन दाहाल चुनाव लड्न खोजेका छन् ।

दाहाल पनि सोही क्षेत्रका हुन् तर अघिल्लो पटक उनी क्षेत्र नम्बर १ मा गएर प्रदेशसभा सदस्य जितेका थिए । यसपटक सिन्धुलीका ९ वटै पालिका कमिटीबाट एकल नाम सिफारिस गराएका दाहालले हरिबोल गजुरेलको नाम भने समानुपातिक उम्मेवारका लागि सिफारिस गराएका छन् ।

पालिका कमिटीहरुबाट आएको सिफारिसका आधारमा क्षेत्रीय कमिटी र जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्ने जिल्ला संयोजक पानीराज बम्जनले जानकारी दिए । जिल्लामा एकछत्र कब्जा जमाएका राजन दाहालले यसपटक हरिबोललाई अप्ठेरो पारेका छन् ।

रामेछाप जिल्ला इन्चार्ज हुँदा तत्कालीन एमाले महासचिव ईश्वर पोखरेल, नेताहरु पशुपति चौलागाई,देवशंकर पौडेल लगायतको हत्या प्रयास गरेपछि पार्टीले उनलाई सिन्धुली सरुवा गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *