काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड निकटका व्यवसायी अजय सुमार्गीको नेपाल स्याटलाइट टेलिकम (हेलो नेपाल) को अनुमति पत्र खारेज भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै खारेज गरेको हेलो नेपाल खारेज नगर्न उसले सरकारलाई अपिल गरेको थियो । सूचना प्रविधि तथा सञ्चार मन्त्रालय पुगेको अपिल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको थियो ।
दूरसञ्चार प्राधिकरणको निर्णय चित्त नबुझेर सरकार गुहारेका सुमार्गीको टेलिकम अन्ततः खारेजीमा परेको हो । अनुमति खारेज भएको अवस्थामा सो फ्रिक्वेन्सी भने अन्यलाई बेच्न मिल्ने दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।
हेलो नेपालले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को बक्यौता रकम करिब ३२ करोड रुपैयाँ तिर्न आनाकानी गरिरहेको थियो । बक्यौतामा समस्या भएपछि प्राधिकरणले गत मंसिरमा अनुमति पत्र खारेज गरेको थियो । तर उसको निर्णय चित्त नबुझेपछि हेलो नेपालले सरकार गुहारेको थियो ।
कम्पनीले २०६४ फागुनमा प्राधिकरणबाट जीएसएम ९००/१८०० मेगाहर्ज स्पेक्ट्रम प्रयोग गर्न अनुमति पाएको थियो । अब यो फ्रिक्वेसी अन्य सेवा प्रदायकले किन्न पाउनेछन् । उनीहरूले प्राधिकरणको शर्त बमोजिम खरिद प्रक्रिया अघि बढाउन सक्ने पौडेलको भनाइ छ ।

Leave a Reply