कांग्रेसका सबै कार्यक्रम भदौ ७ सम्म स्थगित

काठमाडौं । पार्टीका नेता एवं सांसद प्रदीप गिरीको निधनपछि नेपाली कांग्रेसको आकस्मिक बैठक बसेको छ । पार्टी मुख्यालय सानेपामा बसेको बैठकले गिरीको निधनमा दु:ख जनाउँदै शोक प्रस्ताव पारित गरेको छ ।

दिवंगत नेता गिरीप्रति उच्च सम्मान प्रकट गर्दै कांग्रेसले आजदेखि ३ दिनसम्म केन्द्रीय र मातहतका सबै कार्यालयहरूमा पार्टी झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

त्यस्तै भोलि केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, १३ औं दिन (भाद्र १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र सोही दिन केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गर्ने कांग्रेसले जनाएको छ ।

‘सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका गिरी पटक-पटकका लोकतान्त्रिक आन्दोलनहरूमा वैचारिक र सांगठनिक अग्रणी भूमिका निभाउने क्रममा पटक-पटक जेल र निर्वासनमा रहनुभयो । उहाँ नेपाली कांग्रेस पार्टीमा मात्रै नभएर सारा नेपाली र विदेशी राजनीतिक समकक्षीबीच पनि अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो’, बैठकपछि जारी कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘महान दार्शनिक नेता प्रदीप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *