श्रम मन्त्रालय मातहत ३ निकाय प्रमुखविहीन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतका ३ वटा विभाग प्रमुख विहीन बनेका छन् । मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र वैदेशिक रोजगार बोर्ड  प्रमुखविहीन भएका हुन् ।

श्रम, तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक उमाकान्त आचार्यको वैदेशिक रोजगार विभागको जिम्मेवारीमा सरुवा भएपछि उनी कार्यरत रहेको विभाग प्रमुख विहीन भएको हो । यस्तै व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक प्रेमलाल लामिछानेले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि उक्त पद रिक्त भएको हो ।

वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठको पनि ४ वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त भएको हो । यद्यपि बोर्डको कार्यकारी निर्देशक नियुक्तको प्रक्रिया भने अन्तिम चरणमा पुगेको छ ।

कार्यकारी निर्देशक नियुक्तिका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालको संयोजकत्वमा रहेको छनौट समितिले ३ जनालाई मन्त्रिपरिष्द बैठकमा सिफारिस गरिसकेको छ । सम्भवत बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले ३ जनामध्ये एक जनालाई बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।

यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पनि एक सहसचिवको पद रिक्त भएको छ । मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखसमेत रहेका सहसचिव दिपक काफ्ले सचिवमा बढुवा भएपछि उक्त पद रिक्त रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *