काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अधिकांश समय बेफुर्सदिला हुन्छन् । लोडसेडिङको व्यवस्थापनसँगे नेपालको बिजुली निर्यातका सम्भावनाहरु खोतल्न व्यस्त छन् उनी ।
यही व्यस्तताका बीच कुलमानले आफ्नो लागि २६ घन्टा समय निकालेर ओशो तपोवनमा बिताए । यो समयमा मोबाइलसमेत नछोइकन उनले एउटा अनुशासित विद्यार्थीका रूपमा आफ्नो कोर्स पूरा गरेका थिए । तपोवनमा रहँदा अरु सहभागीसँगै उनी नाचेको भिडियो अहिले भाइरल भइरहेको छ ।

शुक्रबार कार्यालय समयपछि ३ बजे प्राधिकरणका १५ जना कर्मचारीसमेत लिएर तपोवनमा पुगेका कुलमान शनिबार बेलुकी साढे ६ बजेतिर फर्किएका हुन् । उनीजस्तै बेफुसर्दी भीभीआईपीका लागि डिजाइन गरिएको ‘तपोवन फर नेशन’ नामक कोर्समा कुलमानले भाग लिएका थिए । एनआरएनका पूर्वअध्यक्ष भवन भट्टले डिजाइन गरेको यो कोर्स हरेक महिनामा एक पटक आयोजना गरिन्छ । भवन भट्ट, निराजन भण्डारी, शोमिता सिम्खडा र आनन्द अरहतले यो कोर्स गराउँछन् ।

प्रशिक्षक सिम्खडाका अनुसार सबैभन्दा छोटो यो कोर्समा विभिन्न ध्यानका विधिहरु तथा थेरापीहरु सिकाइन्छ । घिसिङले पूर्ण अनुशासनमा रहेर कोर्स पूरा गरेको उनले बताइन् ।
‘हाम्रोमा भीभीआईपी भनेर छुट्टै व्यवहार हुँदैन, सबैले एउटै नियम पालना गर्नुपर्छ’, उनले नेपालप्रेससँग भनिन्, ‘उहाँले पनि सबै नियमहरुको पालना गरेर सिकाएका कुराहरु शत प्रतिशत अनुशरण गर्नुभयो ।’

घिसिङलाई एकदमै सिम्पल र विनम्र व्यक्तिका रुपमा पाएको उनले बताइन् । ‘उहाँले आफू अरुभन्दा फरक वा उच्च दर्जाको हुँ भन्ने खालको व्यवहार पटक्कै देखाउनुभएन’, सिम्खडाले भनिन् ।
तपोवनमा ध्यान गर्नेहरुले मोबाइल चलाउन नपाइने, एकापसमा गफ गर्न नमिल्ने, तोकिएको समयभित्र खाना-खाजा आइसक्नुपर्ने, आफूले खाएका भाँडाकुँडा आफैंले धुनुपर्ने जस्ता नियमहरु छन् । घिसिङले सबै नियमहरु अक्षरसः पालना गरेका थिए ।

घिसिङ यसअघि पनि तपोवनमा विभिन्न सन्दर्भमा गइराख्थे । तपोवनका प्रमुख आनन्द अरुणसँग उनको राम्रो सम्बन्ध रहेको छ । ध्यान गर्नकै लागि कोर्समा सहभागी भएको चाहिँ पहिलोपटक हो । कोर्स सिध्याएपछि उनले आफ्नो अनुभव सेयर गर्दै यो बसाइले आफूलाई पुनर्ताजगी दिएको बताएका थिए ।
यसअघि राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सीके राउतले ओशो तपोवनमा आएर सन्न्यास लिएका थिए । ९ दिनको कोर्स पूरा गरेर उनी शुक्रबार फर्किएका छन् ।

Leave a Reply