जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन: संसद बैठककै बीच सभामुखलाई बुझाइने

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि विशेष समितिले गरेको छानबिनको प्रतिवेदन आज २ बजे सभामुखलाई बुझाउने भएको छ । आजको प्रतिनििधसभाको बैठकमै समितिले छानबिन प्रतिवेदन बुझाउने भएको हो ।

छानबिन समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले आज २ बजे छानबिन प्रतिवेदन संसदमा बुझाउने बताए । उनले भने, ‘आज करिब २ बजे हाउसमै छानबिन समितिको प्रतिवेदन बुझाउने तयारी रहेको छ । समितिले गरेको छानबिनको प्रतिवेदन बुझाउने तयारीमा हामी रहेका छौं ।’

करको दर हेरफेर गरेको विषयमा पूर्वअर्थमन्त्री जनार्दन शर्मादेखि अर्थसचिव मधुकुमार मरासिनी र राजस्व सचिव कृष्णहिर पुष्करलगायतसँग बयान लिएर समितिले प्रतिवेदन तयार गरेको छ । सीसीटीभी फुटेजलगायतका विषयमा पनि समितिले अध्ययन गरेको थियो ।

सुरुमा १० दिनभित्र छानबिन गरेर प्रतिवेदन तयार गर्ने भनेर समिति गठन भएको थियो । तर, समितिले समय नपुगेको भन्दै ७ दिनको म्याद थप मागेको थियो । संसदले पनि ७ दिनको म्याद थप गरेपछि समितिले बुधबार प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले गल्ती प्रमाणित गर्ने प्रमाण नभेटिएको निष्कर्ष निकालेको छ । साथै यो छानबिन आफैंमा पर्याप्त नभएको पनि अर्को निष्कर्ष पनि प्रतिवेदनमा समेटिएको छ ।

छानबिन समितिमा एमालेका ४, कांग्रेसका २, माओवादीका २, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टीका १/१ जना सांसद रहेका छन् । यदि बहुमत-अल्पमतका आधारमा निर्णय लिनुपर्ने अवस्था आएको खण्डमा सत्तापक्षीय सांसदहरूको लाइन पारित हुनेछ ।

समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक छन् । कांग्रेसबाट मानबहादुर विश्वकर्मा र सीताराम महतो, माओवादीबाट देवप्रसाद गुरुङ र शक्ति बस्नेत, नेकपा एसबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छन् ।

Comments

One response to “जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन: संसद बैठककै बीच सभामुखलाई बुझाइने”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    नाटक मन्चन कहिलेसम्म हो तपाईंहरूलाई हामीले झेल्नुपर्ने वा भोग्नुपर्ने यहीँ हो गणतन्त्र यहीँ हो जनताको शासन यहीँ क्रान्तिकारीता अब त जाग नेपाली जनता ठिक बेठीक छुट्याउन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *