संघीयता खारेजी र राजसंस्थाको वकालत गर्दै रवीन्द्र मिश्रको पुस्तक आउने

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ पुस्तकका रुपमा आउने भएको छ ।

छिट्टै बजारमा उपलब्ध हुने पुस्तकमा मिश्रले राजसंस्था, संघीयता खारेजी र हिन्दु–बौद्ध राष्ट्रको माग उठाएका छन् ।

मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष पुस्तकमा उल्लेख गरेका छन् ।

उनले ढिलो नगरीकन नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना तथा सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्नुपर्ने बताएका छन् ।

उनी भन्छन्, ‘कुनै विषय सैद्धान्तिक रूपमा राम्रो भएर मात्र हुँदैन, त्यसले धरातलीय यथार्थसँग तादात्म्य राख्नुपर्छ ।’

इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्दा अब पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ र बिपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प नभएको उनको निष्कर्ष छ ।

‘हामीभन्दा माथिको पुस्ताले स्वार्थकेन्द्रित नभई राष्ट्र–केन्द्रित राजनीति गरिदिएको भए आज देशको अर्थतन्त्र, सहर–बजार र स्वाभिमानको स्थिति यति नाजुक हुने थिएन । ६०–७० लाख युवा बिदेसिन बाध्य हुने थिएनन् । आफ्नो सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो । आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम छन्, राजनीति गर्न पर्दैन ।

राजनीति भनेको देशकै लागि गर्ने हो। त्यसैले, कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर यी विषय उठाएको हुँ,’ मिश्रले पुस्तकमा उल्लेख गरेका छन् ।

मिश्रले गतवर्ष विचारभन्दा माथि देश पार्टीमा प्रस्तुत गरेका थिए । जसका कारण पार्टी विभाजिनका मुखमा पुगेको थिए । मिश्रले पार्टीका संयोजक मिलन पाण्डेले फरक मत राखेकै आधारमा कारवाही समेत गरेका थिए ।

फाइनप्रिन्टले प्रकाशन गर्न लागेको यस पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) राजनीतिक शुद्धीकरणको अभियानमा जाने मिश्रले उल्लेख गरेका छन् ।

यसअघि मिश्रको ‘राजनीतिसँगै राजकाज’ पुस्तक आइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *